नवप्रभात डेरी उद्योगले ल्यायो नयाँ ब्राण्डको ‘राजा दही’

काठमाडौं । पाटन औद्योगिक क्षेत्रस्थित नवप्रभात डेरी उद्योगले ‘राजा दही’ नामक नयाँ दही ब्राण्ड नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपाल डेरी एसोसिएसनको आयोजनामा बिहिबार काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा भएको दही चिउरा खाने विशेष कार्यक्रमको अवसरमा पारेर ब्राण्डको औपचारिक उद्घाटन गरिएको छ ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले संयुक्त रूपमा ‘राजा दही’ ब्राण्ड सार्वजनिक गरेका हुन् । कार्यक्रममा नवप्रभात डेरीका प्रतिनिधिले राजा दहीलाई स्वास्थ्यवद्र्धक, स्वच्छ र पोषणयुक्त दहीको रूपमा बजारमा ल्याइएको जानकारी गराएका छन् ।

नवप्रभात डेरी उद्योगले यसअघि नै ‘नवप्रभात मोही’ ब्राण्डमार्फत मोही उत्पादन र वितरण गर्दै आइरहेको छ । उद्योगले विभिन्न प्रकारका दुग्धजन्य पदार्थहरू उत्पादन गर्दै आएकामा हाल ‘राजा दही’ ब्राण्ड थपिएको हो । राजा दहीको सार्वजनिक समारोहमा डेरी क्षेत्रका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्ता, युवा तथा विशिष्ट व्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कम्पनीले आफ्ना उत्पादनमा गुणस्तर, पोषण र स्वच्छताको विशेष ध्यान दिँदै उपभोक्ताको विश्वास जित्न सकिने विश्वास व्यक्त गरेको छ । नवप्रभात डेरीले भविष्यमा अझ आधुनिक प्रविधिबाट दुग्ध उत्पादन विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

You might also like

Comments are closed.