काठमाडौ । रोट्याक्ट क्लब अफ चन्द्रगिरिले आयोजना गरेको ममथन ६.० असार १४ गते (२८ जुन २०२५) झम्सीखेलको सिज्लिङ बाइ डोकोमा उत्साहपूर्वक सम्पन्न भयो। दिउँसो १२ बजेपछि सुरु भएको यो कार्यक्रममा सहभागीहरूले छिटो छरितो तरिकाले म:म खाएर प्रतिस्पर्धा गरे। यो प्रतियोगिता धेरै चरणमा आयोजना गरिएको थियो र अन्तिममा सबैभन्दा छिटो समय लिने सहभागीलाई विजेता घोषणा गरिएको रोट्याक्ट क्लब अफ चन्द्रगिरिकी अध्यक्ष रक्षा ज्ञवालीले जानकारी दिइन् ।

यस वर्ष ममथन ६.० मा आरटिआर. डा. देवान धमला ‘मोमो मास्टर’ बने। पवन खत्री पहिलो उपविजेता भए भने आरटिआर. मन्नु अर्याल दोस्रो उपविजेता भए।
ममथन केवल रमाइलो खाने प्रतियोगिता मात्र नभई, समाजसेवाको लागि कोष संकलन गर्ने उद्देश्यले आयोजना गरिएको थियो। यसबाट उठेको रकम क्लबले विभिन्न सामाजिक काममा प्रयोग गर्नेछ।

क्लबले यसअघि सिन्धुलीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, दृष्टिविहीन विद्यार्थीलाई संगीत उपकरण सहयोग, बुङमतीका बस्तीमा जाडोको लुगा वितरण र थानकोटका विद्यालयमा स्यानिटरी प्याड मेसिन जडानजस्ता महत्वपूर्ण काम गर्दै आएको छ।
कार्यक्रम सफल बनाउन धेरै संस्थाहरूले सहयोग गरेका थिए। सहयोगी क्लबहरू, इन्स्योरेन्स कम्पनी, रोटरी क्लब, विभिन्न प्रायोजक र सहयोगी संस्थाहरूले यसलाई सम्भव बनाएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।
ममथन ६.० ले देखाएको छ कि युवा पुस्ताले रमाइलो कार्यक्रमलाई समाजसेवामा जोडेर ठूलो प्रभाव पार्न सक्छन् ।





Comments are closed.