६ करोडको लगानीमा गणेशटोलमा खुल्यो पोखरा स्पोर्टस क्यासल

सन्देश श्रेष्ठ
पोखरा, १४ भदौ । पोखरामा फेरी अर्को अत्याधुनिक व्यायमशाला थपिएको छ । पोखरेली ७ जना खेल प्रेमीहरुको संयुक्त लगानीमा अत्याधुनिक व्यायमशाला सञ्चालनमा आएको हो । उनीहरुले पोखरा महानगरपालिका वडा नम्बर ४ गणेशटोलमा ‘पोखरा स्पोर्ट्स क्यासल’ नाम दिएर व्यायमशाला सञ्चालनमा ल्याएका हुन् । स्पोर्ट्स क्यासलमा फुटवलका पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’, एन्फा कास्कीकी कोषाध्यक्ष बिजया गुरुङ, फुटसलका राष्ट्रिय टीमका प्रशिक्षक विष्णु गुरुङ, नेपाल पुलिस क्लवका पूर्व गोल रक्षक विशाल श्रेष्ठसहित खेलप्रेमी अनमोल पालिखे, दीलिप कार्की र पवन गुरुङको लगानी रहेको छ ।

६ करोड लगानीमा सञ्चालनमा आएको पोखरा स्पोर्ट्स क्यासल साढे ६ रोपनी क्षेत्रफलमा रहेको छ । अन्र्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको यस स्पोर्टस क्यासलमा फुटसल र जिम हल छुट्टाछुट्टै रहेको छ । फुटसलको लम्बाई ४० मिटर र चौडाईं २० मिटर रहेको सञ्चालक समितिका अध्यक्ष ईश्वर गुरुङ ‘चन्द्र’ले जानकारी दिए । उनका अनुसार यो फुटसल फाइभ ए साइडका लागि अन्र्तराष्ट्रिय मापदण्डको एरेना हो भने पोखराको सबैभन्दा ठूलो फुटसल एरेना हो ।

त्यस्तै जिम हलमा एकैपटक ६० भन्दा बढी मानिसले व्यायम गर्न मिल्ने उनले बताए । जिम हलमा फिजिकल फिटनेसका लागि प्रशस्त ठाउँ रहेको छ । त्यसका अलावा जुम्बा, साउना, स्टिम बाथ लगायतपनि एकै ठाउँमा उपलब्ध रहेको गुरुङले जानकारी दिए । उनले अभ्यास पश्चात नुहाउनका लागि प्रशस्त ठाउँ भएको बाथरुम, प्रशस्त लकर, शौचालय र पार्किङका लागि प्रशस्त ठाउँ रहेको बताए ।

व्यायम गर्न आउनेलाई शुरुमा प्रशिक्षण दिइने ब्यबस्था रहेको सञ्चालक मध्येका एक अनमोल केसीले जानकारी दिए । अभ्यास प्रशिक्षणका लागि स्पोर्टस क्यासलमा पूर्व मिस्टर पोखरा नरजंग गुरुङ (म्याक्स), युवराज गुरुङ र महिलाका लागि ओमिसा घिसिङलाई प्रशिक्षकणका लागि राखिएको उनले बताए ।

निकट भविष्यमा स्विमिङ पुलसमेत राख्ने योजना रहेको पालिखेले बताए । त्यसको पनि तयारी भइरहेको उनको भनाई छ ।

यसैबीच, पोखरा स्पोर्टस क्यासलको गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले समृद्धीका लागि मानिस स्वस्थ हुनुपर्ने र त्यो स्वस्थता व्यायमशालाले बनाउने बताए । उनले खेलकुद मनोरञ्जन मात्रै नभएर शारिरिक स्वस्थताका लागिपनि आवश्यक भएको बताउँदै शारिरिक रुपमा स्वस्थ भएमात्रै मानिस मानसिक रुपमा स्वस्थ रहने र मानसिक रुपमा स्वस्थ रहेमात्र देश विकास र समृद्धीमा भूमिका निभाउन सकिने बताए । उनले देशलाई समृद्ध बनाउन सरकारले मात्रै नसक्ने भएकाले यसमा नीजि क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउँदै त्यसमा सघाउन नीजि क्षेत्रलाई आग्रह गरे ।

गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले खेलकुद स्वस्थतासँगै अनुशासनका लागिपनि आवश्यक भएको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेशकुमार गुरुङले फुटसमा मध्यपान र धुम्रपानजस्ता विकृति भित्रिन थालेको भन्दै त्यसको अन्त्यका लागि सचेतता अप्नाउन सञ्चालकहरुलाई आग्रह गरे ।

ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले खेलकुदले दीगो विकास र शान्ति स्थापनामा पनि सघाउने भएकाले यो सबैका लागि आवश्यक भएको बताए ।

प्याराग्लाईडिङ प्रशिक्षक भट्टराई सम्मानित

प्याराग्लाईडिङका प्रशिक्षक योगेश भट्टराई पोखरामा सम्मानित भएका छन् । पोखरा स्पोर्टस क्यासलको उद्घाटनको अवसरमा भट्टराईलाई सम्मान गरिएको हो । एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जिताउन प्रशिक्षणको माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई पोखरा स्पोर्टस क्यासलले सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरेको हो । उनलाई गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ र पोखरा स्पोर्टस क्यासलका सञ्चालक समितिका अध्यक्ष ईश्वर गुरुङ ‘चन्द्र’ले संयुक्त रुपमा सम्मान गरेका थिए ।

lcci
You might also like

Comments are closed.