ग्लोबल आइएमई क्यापिटलले ल्यायो ‘समुन्नत योजना २’, सामुहिक लगानी कोष असार २२ देखि निष्काशनमा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले यही आउँदो असार २२ देखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।

यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको छ ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ । योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

इक्विटी/इक्विटी सम्बन्धी साधनहरूः ७०–९० प्रतिशत (उच्च जोखिम), ऋणपत्रः निश्चित आम्दानी साधनहरूः ०–१० प्रतिशत (मध्यम जोखिम), फिक्स्ड डिपोजिटः ०–१० प्रतिशत (न्यून जोखिम) र नगद/आईपीओ/अन्य म्युचुअल फन्डः ०–१० प्रतिशत (न्यून जोखिम) लगानी मिश्रण रहेको छ ।

व्यवसायिक व्यवस्थापन, विविधीकरण, सहजता र पहुँच, सस्तो लगानी, पारदर्शिता, कर छुट, लगानीकर्ता संरक्षण लगायतका कारणले लगानी गर्नुपर्ने कारण रहेका छन् । क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरीद प्रतिफल दिएको छ ।

त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ । यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ । जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रर्वधकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

मुख्य विशेषताहरू
– योजनाको प्रकारः बन्दमुखी योजना
– फन्ड नामः ग्लोबल आइएमई म्युचुअल फन्ड
– योजना नामः ग्लोबल आइएमई समुन्नत योजना २
– कोष आकारः प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)
– प्रति इकाई मूल्यः रू. १०
– सर्वसाधारणमा निष्काशन गरिने इकाइहरूः १२ करोड इकाईहरू
– न्यूनतम लगानीः १०० इकाई
– अधिकतम लगानीः योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई
– योजना अवधिः इकाई बाँडफाँड मिति देखि १० वर्ष
– लाभांश नीतिः प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी
– सूचीकरणः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
– प्रारम्भिक लगानीः १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)
– व्यवस्थापन शुल्कः नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
– डिपोजिटरी शुल्कः नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

You might also like
Ram Tulasi Palpa

Comments are closed.