रामपुर (पाल्पा) । एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका माथिल्लो मनभागा गाउँका स्थानीयबासीलाई अब भने खानेपानीको पिरलो छैन । घरमै धारा जडान गरेर पानी आएपछि स्थानीयको मुहार फेरिएको छ ।
रामपुर नगरपालिका–१० स्थित माथिल्लो मनभागा गाउँ नगरकै विकट भेगमा पर्छ । वर्षौदेखि यहाँका स्थानीयबासीले खानेपानीका लागि कष्ठ भोग्दै आएका थिए । अहिले रामपुर नगर सरकारको सहयोगमा योजनामार्फत घर–घरमा पानी आएको देख्दा स्थानीयबासी खुशीले उत्साहित बनेका छन् ।
यहाँका स्थानीयबासीलाई खानेपानी मात्र नभई घरायसी प्रयोजनका लागि पानीको उत्तिकै दुःख थियो । गाउँ नजिकका खोला, खोल्सा, मुल, कुवामा पुगेर एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनु पर्दथ्यो । रामपुर नगरपालिकाको सहयोगमा लिफ्टिङमार्फत खानेपानी योजना निर्माण भएपछि घर–घरमा पानीको सुबिधा पुगेको छ ।
नगरपालिकाले खानेपानी योजना निर्माणका लागि विभिन्न आर्थिक वर्षमा गरेर रु १७ लाख ५० हजार रकम र स्थानीय उपभोक्ताको रु ४ लाख २१ हजार ६ सय सहयोगमा खानेपानी योजना सम्पन्न भई सञ्चालनमा आएको माथिल्लो मनभागा खानेपानी योजनाका सचिव थानबहादुर गाहाले जानकारी दिए ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५मा रु ८ लाख , ७५/७६ मा रु ५ लाख , ७८/७९ मा रु १ लाख ५० हजार र ७९/८० मा रु ३ लाख गरी कुल रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको हो । सो योजना निर्माणका लागि स्थानीय उपभोक्ताले जनश्रमदान समेत गरेका छन् ।
समितिका अध्यक्ष दिलबहादुर सिंजालीले २२ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरी लिफ्टिङमार्फत योजना सम्पन्न गरी घर–घरमा पानी वितरण भइरहेको बताए । मनभागामा टोकलोक डि बाट लिफ्टिङमार्फत यहाँका १८ घरपरिवारलाई शुद्ध पिउने पानी वितरण गरेको अध्यक्ष सिंजाली बताउँछन् ।
खानेपानी योजनाले स्थानीयबासीको दैनिकीमा ठूलो परिवर्तन ल्याइदिएको अमिता थापाले बताइन् । “पानी खोज्नका लागि सबैरै उठेर गाउँतिरका कुवा, खोल्सी, मूल भएतिर धाउनुपथ्र्यो, पानी खोज्नमै समय धेरै बिताउनुपथ्र्यो, घरको कामकाज गर्न धेरै अप्ठ्यारो स्थिति बेहोर्नुप¥यो, योजनामार्फत घर घरमा धारा जडान गरेर पानी आउँदा हर्षित छौँ, पानी बोक्नमा बित्ने समय अब अन्य कामकाजमा लगाउन पाइने भो” उनले खुशी हुँदै भनिन् ।
घरको धारामा २४ सैँ घण्टा पानी आइरहदा स्थानीयको वर्षौदेखिको सपना पूरा भएको छ । नगरकै बिकट र दुर्गममा रहेको हुँदा कष्ठका साथ गाउँमा खानेपानी योजना सम्पन्न गरेर पानी वितरण गर्न सफल भएको वडाध्यक्ष तोयानाथ सारु थापाले बताए ।
गाउँका स्थानीयबासीले भोगेको खानेपानी समस्याले कती बेला योजना सम्पन्न गरेर घर–घरमा पानी खुवाउने भन्नेमा ध्यान केन्द्रीत रहने गरेको थियो, अहिले आएर सपना पूरा भएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । खानेपानी योजनाका लागि नगर प्रमुख थापाको जोडबलमा कामलाई धमाधम अगाडी बढाएर अहिले घर–घरमा पानी पु¥याइएको हो ।
“वि.सं २०७४ को स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका लागि गाउँमा जाने क्रममा खानेपानीको अभाव दयनिय देखे, निर्वाचन जिते पनि हारेपनि खानेपानी ल्याउँछु भनेर प्रतिबद्धता जनाएको थिए” नगर प्रमुख थापाले भने–“निर्वाचन सकिए पश्चात् योजनाको काम सुरु भयो, योजना सम्पन्न गरेर पानी खुवाउन पाउँदा खुशी लागेको छ ।”
नगरबासीको आवश्यकता पुरा गर्नका लागि तीनै तहका सरकार र सरोकारवालाबीच समन्वय र सहकार्य गरेर अगाडी बढ्न आवश्यक रहेको उनले बताए । जनताको आवश्यकतालाई पूरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै आवश्यकताको आधारमा काम गर्दै आएको नगर प्रमुख थापाको भनाइ छ । नगर प्रमुख थापाको रामपुर नगरपालिकामा दोस्रो कार्यकालको नेतृत्व हो ।
गाउँमा पहिला बस्ती ठूलो रहेपनि पछिल्लो समय बसाइसराईले गर्दा वस्ती पातलो हुँदै गएको छ । पहिला यहाँ ३६ घरपरिवारको बसोबास रहेको थियो ।
Comments are closed.