रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । ‘मेयरसँग बालबालिका’ कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट नतिजा ल्याएर उत्र्तिण ८७ विद्यार्थी र १२ विद्यालयलाई सम्मान गरिएको हो ।
नगरका विद्यालयबाट चार जिपिएसहित ३.६ जिपिए वा सो भन्दा माथि नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । एसइई परीक्षामा रामतुलसी नमुना माविबाट अनुजा श्रेष्ठ र विविशा घिमिरेले चार जिपिए ल्याएर नगरमै उत्कृष्ट विद्यार्थी भएका छन् ।
चार जिपिए ल्याउने विद्यार्थीलाई जनहि नगद रु पाँच हजार र ३.६ जिपिए वा सो भन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई नगद रु दुई हजारसहित सम्मान पत्रले सम्मान गरेको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । एसइईमा ए प्लससहित नतिजा ल्याउन सफल १२ विद्यालय पनि सम्मानित भएका छन् ।
रामपुर नगर प्रमुख रमणबहादुर थापाले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याएर उत्र्तिण हुन सफल विद्यार्थीले नगरको गौरव बढेको बताए । विद्यार्थीको शैक्षिक भबिष्यका लागि नगरपालिकाले छात्रवृत्ति, विभिन्न शैक्षिक सामग्री, शैक्षिक क्रियाकलापमा नगरपालिकाले जोड दिदै आएको नगर प्रमुख थापा बताउँछन् ।
नगरपालिकाभित्र बसोबास गर्ने कोही पनि बालबालिका आर्थिक अभावमा विद्यालय शिक्षाबाट वञ्चित हुनु नपर्ने उनले बताए ।
Comments are closed.