बीमाको पहुँच ४ प्रतिशतले बढ्दै ४७.९५ प्रतिशतमा, व्यवसायमा साढे १४ प्रतिशतले वृद्धि

काठमाडौं । बीमा सचेतना बढ्दै जाँदा नेपालमा बीमाको पहुँच क्रमशः विस्तार हुँदै गएको छ। नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार, बीमाको दायरामा आएको जनसंख्या ४ प्रतिशतले वृद्धि भई हाल ४७.९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको जेठ मसान्तसम्म यो प्रतिशत ४३.९५ थियो।

म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमालेख समेटेर प्राधिकरणले यो प्रतिशत निर्धारण गरेको हो। वैदेशिक रोजगारमा जानेहरूले अनिवार्य जीवन बीमा गर्नुपर्ने व्यवस्था रहेको छ। यदि म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालाई छुटाएर हेरिने हो भने बीमाको पहुँच १६.९८ प्रतिशत मात्रै रहेको देखिएको छ।

बीमा व्यवसायमा साढे १४ प्रतिशतको बृद्धि

बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिनामा साढे १४ प्रतिशतले वृद्धि गर्दै करिब २ खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। प्राधिकरणका अनुसार, जेठ मसान्तसम्म जीवन र निर्जीवन बीमाले कुल १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख रुपैयाँको व्यवसाय गरेका छन्। अघिल्लो वर्ष यस अवधिसम्म १ खर्ब ७० अर्ब रुपैयाँको व्यवसाय भएको थियो।

कुल व्यवसायमा जीवन बीमाको हिस्सा ७९.५५ प्रतिशत पुगेको छ भने निर्जीवन बीमाको हिस्सा २०.४५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष जीवन बीमाको हिस्सा ७८.५३ प्रतिशत र निर्जीवनको २१.४३ प्रतिशत थियो।

जीवन बीमाको अवस्था

जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी हो।

यस अवधिमा ३५ अर्ब १७ करोड ५१ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब १९ अर्ब ९८ करोड २४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन भएको छ।

जीवन बीमा कम्पनीहरूको सक्रिय बीमालेख संख्या १ करोड ५४ लाख ९८ हजार ७०१ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो।

निर्जीवन बीमाको अवस्था

चालु आवको जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत वर्ष यस अवधिसम्म ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ संकलन भएको थियो।

बीमालेखको संख्या

समीक्षा अवधिसम्म म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालाई बाहेक गर्दा जीवन बीमालेख संख्या ५५ लाख ३६ हजार ४४९ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.८७ प्रतिशतले घटेको हो।

म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७४ लाख २१ हजार २९४ पुगेको छ भने वैदेशिक रोजगार बीमालेख संख्या २५ लाख ४० हजार ९५८ पुगेको छ। अघिल्लो वर्ष क्रमशः ६३ लाख २२ हजार २६२ र २० लाख ६७ हजार २३७ थियो।

बीमा क्षेत्रमा जनचेतना बढ्दै जाँदा पहुँच विस्तार हुनु सकारात्मक पक्ष हो भने व्यवसायको दोहोरो अंकको वृद्धि बीमा कम्पनीहरूको कारोवार सुदृढ हुँदै गएको सङ्केत पनि हो। जीवन बीमा क्षेत्रमा विशेषरूपमा वृद्धि दर उच्च देखिँदा भविष्यमा अझ धेरै जनसंख्यालाई बीमाको दायरामा ल्याउने आशा गरिएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.