दोलखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत तथा व्यावसायिक अनुभव आदानप्रदान

काठमाडौं । दोलखा उद्योग वाणिज्य संघद्वारा संस्थागत विकास, व्यावसायिक अनुभव आदानप्रदान, आपसी सहकार्य तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं आएको टोलीलाई नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले स्वागत तथा भेटघाट गरेको छ । मंसिर १ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रमअन्तर्गत संघमा स्वागत तथा भेटघाट गरिएको हो ।

संघको आयोजनामा मंसिर १ गते मंगलबार, एल्लो प्यागोडा होटल, कान्तिपथमा आयोजित उक्त कार्यक्रममा दुवै संघका अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

कार्यक्रममा संघका अध्यक्ष रमानाथ श्रेष्ठले दोलखा उद्योग वाणिज्य संघसँगको आत्मीय सम्बन्धलाई स्मरण गर्दै संस्थागत सक्रियता, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराए । साथै, काठमाडौं महानगरपालिका, ३२ वटै वडा तथा प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रम र आगामी काठमाडौं महोत्सवबारे प्रकाश पारे ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठले आफ्नो जन्मभूमि दोलखासँगको भावनात्मक सम्बन्ध व्यक्त गर्दै दुई संस्थाबीचको सहकार्य र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सनत थापाले भ्रमणको उद्देश्य तथा संस्थागत अनुभव आदानप्रदानको महत्त्वबारे प्रकाश पार्दै आगामी पौष ८ गतेदेखि आयोजना हुन लागेको दोलखा महोत्सवमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंलाई सहभागिता तथा सहकार्यका लागि निमन्त्रणा गरे ।

त्यसैगरी दोलखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं नेउवामहसंघका पुर्व कार्यकारिणी सदस्य रामेश्वर मानन्धरले संस्थाको विकासक्रम, युवा उद्यमशीलता, स्थानीय उत्पादनको प्रवर्द्धन तथा कृषि, किवी खेती र माछापालनजस्ता सम्भावनायुक्त क्षेत्रको बजारीकरणबारे आफ्नो धारणा राखे ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष दिनेश श्रेष्ठले आफ्नो लामो व्यावसायिक तथा संस्थागत अनुभव साझा गर्दै जिल्लास्तरीय उद्योग वाणिज्य संघको संस्थागत विकास, व्यवसायीबीचको नेटवर्किङ र स्थानीय उत्पादनलाई ठूला बजारसँग जोड्ने विषयमा सहकार्यको आवश्यकता औँल्याए ।कार्यक्रममा दुवै संघबीच संस्थागत व्यवस्थापन, व्यावसायिक विकास, उद्यमशीलता प्रवर्द्धन, पर्यटन विकास, स्थानीय उत्पादनको बजारीकरण तथा निजी क्षेत्रका साझा मुद्दाहरूमा सहकार्यका सम्भावनाबारे सकारात्मक छलफल भएको थियो।

कार्यक्रमको अन्त्यमा दोलखा उद्योग वाणिज्य संघ र यस संघबीच मायाको चिनो आदान प्रदान गरिएको थियो। वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठको धन्यवाद ज्ञापन तथा रात्रिभोजसहित कार्यक्रम समापन भएको थियो।

You might also like

Comments are closed.

Secret Link