रामपुरका ३३६ विद्यार्थीलाई मेयर छात्रवृत्ति

शैक्षिक क्षेत्रमा पठनपाठनमा सघाउँदै आएको पाल्पाको रामपुर नगरपालिकाले यस वर्ष ३३६ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

यस आर्थिक वर्षमा मेयर छात्रबृत्ति कार्यक्रमार्फत नगरपालिका भित्रका ५३ शैक्षिक संस्थाका विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको छ । यहाँका दर्छा क्याम्पस र शहिद बहुमुखी क्याम्पससहित ५१ सामुदायिक विद्यालयका साधारण तथा उच्च प्राविधिक/विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि नगरपालिकाले छात्रवृत्ति सहयोग गरेको हो ।

साधारणतर्फ ५३ शैक्षिक संस्थाका ३१३ विद्यार्थीलाई रु १० लाख ३१ हजार ८०० र उच्च प्राविधिक/विज्ञान सङ्कायमा अध्ययन गर्ने २३ जना विद्यार्थीलाई रु एक लाख ६७ हजार ६०० बराबरको छात्रबृत्ति रकम यस आर्थिक वर्षमा वितरण गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए ।

साधारण र उच्च प्राविधिक/विज्ञानसहित कुल  ३३६ विद्यार्थीलाई जम्मा रु ११ लाख ९९ हजार ४०० बराबरको छात्रबृत्ति रकम सहयोग गरिएको अधिकृत काफ्ले बताउँछन् । उनका अनुसार विद्यार्थी संख्याको आधारमा छात्रवृत्ति वितरण भएको छ । रामपुर नगरपालिकाले हरेक वर्ष विद्यार्थीको पठनपाठनमा सहजता होस् भनेर मेयर छात्रवृत्ति कार्यक्रममार्फत छात्रवृत्ति वितरण कार्यक्रमलाई निरन्तता दिदै आइरहेको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

यो कार्यक्रम नगरमा सञ्चालनमा आएपछि असहाय, न्युन आय भएका, जेहेन्दार विद्यार्थीको पठनपाठनमा उपलब्ध गराइएको छात्रवृत्ति राम्रोसँग सदुपयोग गरेको नगर प्रमुख थापा बताउँछन् । नगरपालिकाले ल्याएको यस कार्यक्रमबाट विद्यार्थी प्रभावित बनेका छन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.