बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज (असार २९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ  निष्काशन गरेको छ ।

कम्पनीले कुल ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरका ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएको छ ।

आयोजना प्रभावित बासिन्दामध्ये ६५ प्रतिशत शेयर अति प्रभावित क्षेत्र (सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ र ७) का बासिन्दालाई, तथा ३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्र (बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११) का बासिन्दालाई बाँडफाँट गरिनेछ ।

यसका साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरका २ लाख ७ हजार ५०० कित्ता शेयर निष्काशन गरिएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीको आईपीओका लागि केयर रेटिङ नेपालले ‘CARE-NP BB (Is)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतालाई औसत जोखिम भएको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर परेको छ । आयोजनाको विद्युत अनुमतिपत्र अवधि अझै २६ वर्ष १० महिना बाँकी छ ।  आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आयोजनास्थल तथा नजिकका शाखाबाट आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन फाराम बापत २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.