काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई नेपाल लाइफको रु १ करोड सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई काठमाडौंमा अस्पताल भवन निर्माणका लागि रु १ करोड आर्थिक सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन् ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ–काठमाडौंको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने बताए । यस किसिमको परियोजनाले राज्यले लिएको नीतिलाई समेत सघाउ पुग्ने र आगामी दिनमा पनि निजी स्तरबाट नै यस किसिमको परियोजनाको सफल कार्यान्वयन गर्न सकिएको खण्डमा नागरिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि राजधानी लगायत सातैवटा प्रदेशमा सुविधायुक्त अस्पताल निर्माणार्थ आगामी दिनमा पनि सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनी बताउँछन् । बालबालिकाको स्वास्थ्य उपचारका लागि रु १ करोडको सहयोग प्रदान गरिएको र यसले न्युन आर्थिक अवस्था भएका बालबालिकाले विशिष्टिकृत अस्पतालमा विशिष्टीकृत चिकित्सकबाट उपचार प्राप्त गर्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष, मुटुरोग विशेषज्ञ तथा प्राध्यापक कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने जानकारी दिए । नेपाल लाइफ जस्तो गरिमामय र ठूलो ब्राण्डसँग सहकार्य गर्न पाउँदा पनि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको गरिमा बढेको र काम गर्न थप हौसला प्राप्त भएको डा. कोइरालाले बताए ।

“काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पतालका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल सञ्चालन गर्ने गरी स्थापना भएको हो” डा. कोइरालाले भने ।

यस परियोजना अन्तर्गत पहिलो अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ–दमक बाल अस्पताल स्थापना भई सेवा शुरू भएको छ । अस्पतालबाट वहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयु, एनआईसीयु, एचडीयु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु भइसकेको छ ।

 

 

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.