साउन ६ गतेदेखि बन्दीपुर केवलकारको आईपीओ निष्काशन

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि प्रारम्भ गर्ने गरी आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ ल्याउन लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

यसअन्तर्गत ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।  यी शेयरमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिकाको वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्टार नगरपालिकाको वडा नं. ७ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको ५ लाख २९ हजार ४०० कित्ता शेयर छुट्याइएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर आवेदन छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गतेसम्म खुला हुनेछ ।कम्पनीले केयर रेटिङ नेपालबाट केयरएनपी डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतालाई औसत जोखिमयुक्त भनेर संकेत गर्छ ।

कम्पनीको कुल आयोजना लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.०५ वर्ष रहेको छ । बन्दीपुर केवलकारको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेशन (बन्दीपुर गाउँपालिका वडा नं. ४), आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय तथा पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । आवेदन फाराम बापत २ रुपैयाँ शुल्क लाग्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.