काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले जलविद्युत उत्पादनमा गरेको प्रगति र उपलब्धि प्रशंसनीय रहेको बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालको २३ औं बार्षिक साधारणसभाको अवसरमा बोल्दै सभापति देउवाले निजी क्षेत्रले ऊर्जा उत्पादनमा गरेको योगदानका कारण अहिले मुलुकले लोडसेडीङको समस्या भोग्नु नपरेको बताएका हुन् ।
नेपाली कांग्रेस जलविद्युत उत्पादनमा पनि निजी क्षेत्रको लगानी आवश्यक छ भन्ने पक्षमा सुरु देखि नै रहेको बताउँदै सभापति देउवाले कांग्रेसको सरकारले तत्कालिन कांग्रेस नेतृ शैलजा आचार्य उपप्रधान एवं जलस्रोत मन्त्री भएका बेला जलबिद्युत उत्पादनमा निजि क्षेत्रको लगानी खुला गरेकाले सो नीतिकै कारण आज निजि जलविद्युत उत्पादनमा झण्डै ८० प्रतिशत हिस्सा ओगट्दै अर्बौ लगानी गर्ने वातावरण बनेको जानकारी दिए ।
“तपाईहरुले शेयर निष्काशनमा ढिलाई, विद्युत खरिद सम्झौता (पीपीए) नभएको, राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माण गर्न नपाएको, समयमै प्रसारण लाइन नबन्दा बिजुली खेर गएको, वन मन्त्रालय सरकारी निकायमा प्रक्रियागत झण्झट रहेको र लामो समय लाग्ने गरेको लगायतका थुप्रै समस्याहरु उठाउनुभएको छ” उनले भने, –“देशमै बसेर लगानी गर्छु भनेर लाग्नुभएकालाई यस्तो कुरामा सरकारले सहजीकरण गर्ने हो, दुःख दिने होइन, मुलुकलाई अहिले निजी क्षेत्रको लगानीको खाँचो छ, निजी क्षेत्रको लगानीबिना देशको विकास सम्भव हुँदैन र देशले आर्थिक समृद्धि हासिल गर्न पनि सक्दैन भन्नेमा हामी पूर्ण विश्वास गछौं” ।
नेपालले आर्थिक तथा सामाजिक विकासमा अहिलेसम्म प्राप्त गरेको उपलब्धिको पछाडी देशले अघि बढाएको उदारवाद र निजीकरणको नीति हो भन्नेमा दुई मत छैन र यसको कार्यान्वयनको क्रममा भएका कमीकमजोरी अन्त्य गरेर निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको सभापति देउवाको भनाइ छ । उनी भन्छन्, “विद्युत उत्पादन बढ्दै जानु खुशीको कुरा हो, आज देशभित्र लोडसेडिङ छैन छिमेकी मुलुकसँग विद्युत व्यापार पनि सुरु भएको छ, अझै स्वदेशभित्र धेरै उद्योग व्यवसाय सञ्चालन गरेर बढीभन्दा बढी बिजुली खपत गराउनु पर्दछ” ।
म प्रधानमन्त्री भएका बेला पहिलोपटक ३९ मेगावाट विद्युत व्यापार सुरु भएको जानकारी दिदै सभापति देउवाले म प्रधानमन्त्री हुँदा नै भारतीय प्रधानमन्त्री मोदीसँग संयुक्त सहकार्यका लागि समझदारी गरेको अवगत गराए । सो आधारमा अहिले भारतसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विद्युत व्यापार हुन थालेको उनको भनाइ छ ।
“अहिले उत्पादित बिजुली खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो र यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ, लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल विधि अपनाएर लगानी गर्ने वातावरण बनाउने हो, लगानीकर्तालाई दुःख दिने भन्ने त हुँदै हुँदैन, स्वदेशी मात्र होइन, विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ” उनले भने ।
Comments are closed.