हिमालयन डेरीले बजारमा ल्यायो ‘दर्शन मोही’

काठमाडौं । नेपाली बजारमा मोहीको माग बढ्न थालेपछि हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरले नयाँ ब्राण्डको मोही बजारमा ल्याएको छ ।

काभ्रेको बनेपा नगरपालिका–७ मा अवस्थित यस रिसर्च सेन्टरले परीक्षणको रुपमा दर्शन ब्राण्डको मोही बजारमा ल्याएको हो । साउन १ गतेदेखि सो ब्राण्डको मोही बजारमा परीक्षणको रुपमा सुरु गरिएको डेरी उद्योगका कार्यकारी निर्देशक शिवराम आचार्यले जानकारी दिए ।

हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर विगत ७ वर्षदेखि सञ्चालित छ । दुग्धजन्य व्यवसायलाई प्रवद्र्धन गर्दै ब्राण्डको रुपमा बजारमा ‘दर्शन मोही’ सुरु गरिएको हो । दर्शन ब्राण्डमार्फत दूध तथा दुग्ध पदार्थहरू पनिर, घ्यू, दही, बटर ब्राण्डिङ सहितका विभिन्न दुग्ध पदार्थ उपलब्ध गराएको अध्यक्ष मनोजकुमार घिमिरेले बताए ।

पछिल्लो समय नेपाल डेरी एसोसिएसनले मोही अभियान चलाएपछि देशभर मोहीको खपत बढेको छ । देशभर ३७ वटा उद्योगले ब्राण्डीङसहित आफ्नो उत्पादन बजारमा ल्याएका छन् भने अहिले २ लाख ५० हजार मोही खपत हुने गरेको तथ्य रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए । उनका अनुसार त्यसमा करिव ३० हजार लिटर ब्राण्डिङसहित बजारमा खपत हुने गरेको छ ।

काभ्रेको नालास्थित टुसालमा विसं २००९ मा पहिलो पटक डेरी उद्योग स्थापना भएको हो । हाल भने यस क्षेत्रमा आधा दर्जन जति ठूला उद्योग नै स्थापना भएका छन् । सबैभन्दा बढी दूध उत्पादन हुने र दूधमा आत्मनिर्भर हुने पहिलो जिल्ला काभ्रे हो ।

काठमाडौं बाहिरका विभिन्न स्थानमा मोही बजारमा खपत भइरहेको छ । काठमाडौंको बजारलाई मुख्य बजार मानेर नयाँ ब्राण्डको रुपमा स्थापित ‘दर्शन मोही’ले बजारमा राम्रो स्थान पाउने अपेक्षा गरेको हिमालयन डेरीका सञ्चालक रविन्द्र हुमागाई बताउँछन् ।

खाना पचाउने, पेट सफा गर्ने, हड्डी बलियो बनाउने जस्ता धेरै कुरामा फाइदा पुग्ने हुनाले अनिवार्य रुपमा मोहीको सेवन गरिनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । नियमित मोही सेवन गर्ने बानीले मानव स्वास्थ्यलाई मात्र फाइदा होइन यसले पेयपदार्थमा खर्चिने रकम समेत स्वदेशी उत्पादनमा नै खपत हुनेछ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.