आन्तरिक राजस्व कार्यालय पोखराको ५१ करोड बढी राजस्व सङ्कलन

कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षको तुलनामा ५१ करोड बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्ब ८ करोड ४६ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो ।

आ.व. ०८०/०८१ मा आन्तरिक राजस्व कार्यालयले ५ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । आ.व. ०८१/०८२ को वार्षिक लक्ष्य ७ अर्ब १९ करोड १७ लाख रहेकोमा कार्यालयले लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष ०८१/०८२ मा आयकरतर्फ ४ अर्ब, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८९ करोड ५९ लाख र अन्तः शुल्कतर्फ १८ करोड ४५ लाख राजस्व सङ्कलन गरेको छ । सहकारीमा समस्या, आर्थिक गतिशिलतामा सुस्तता भएकोले लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएपनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत शिव शर्माले बताए ।

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत व्यवसायिक प्यानमा दर्ता हुने करदाताको संख्या ६८ हजार रहेको छ । जसमध्ये १२ हजार ५ सय करदाता मू.अ.करमा दर्ता छन् भने व्यक्तिगत प्यान लिनेको संख्या २ लाख १० हजार रहेको छ ।

कार्यालय परिसरमा करदाता सहायता कक्ष
करदातालाई सहायता प्रदान गर्ने उद्देश्यले आर्थिक वर्ष ०८२/०८३ को पहिलो दिनदेखि आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा करदाता सहायता कक्ष सञ्चालन भएको छ । बिहिबार एक कार्यक्रमकाबीच जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीरुद्रा देवी शर्माले करदाता सहायता कक्षको उद्घाटन गरे ।

आन्तरिक राजस्व कार्यालय पोखरा, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडको सहयोगमा करदाता सहायता कक्ष निर्माण भई सञ्चालनमा आएको हो । सहायता कक्ष स्थापना पछि करदातालाई कार्यालयका कार्यहरूमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.