हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उनले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए ।

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटाँैडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारी उद्योग, कलकारखानाको पुनःसंरचना र सुधारका निम्ति माओवादी केन्द्रले चासो र पहल लिँदै आएको भन्दै श्रमिक वर्ग र देशको हितमा हुने काममा आफू सधैँ साथमा रहने विश्वास दिलाए ।

ध्यानाकर्षण पत्रमा उद्योग सञ्चालनमा लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेकाले यस्ता गतिविधि रोक्न तथा उद्योगका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इञ्चार्ज विजय गौतमलगायत ट्रेड यनियनका नेताहरू सहभागी थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.