काठमाडौं । ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही तीव्र बनाएको छ । जथाभावी सवारी चलाउँदा दुर्घटना बढेसँगै प्रहरीले कारबाही तीव्र बनाएको हो ।
नेपाल प्रहरीका अनुसार पछिल्लो एक महिना (असार) मा मात्रै ट्राफिक कारबाहीबाट १२ करोड ८ लाख ४२ हजार ७३८ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो । असारमा कारबाहीमा परेका सवा १ लाख सवारी साधनबाट सो राजस्व असुली भएको छ ।
जेठको तुलनामा असारमा जरिवाना रकम २ करोड ६७ लाख रुपैयाँ धेरै उठेको हो । जेठमा ट्राफिक कारबाहीबाट ९ करोड ४१ लाख ३० हजार ७०६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने लगायतलाई कारबाही गरी जरिवाना तिराइएको छ ।
Comments are closed.