काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहीबार, साउन २९ गते बिहान बाँडफाँट प्रक्रिया सम्पन्न गरिने तयारी गरिएको छ ।
बाँडफाँटमा २ लाख ४२ हजार ३१८ जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्, जसमा ५ जनाले भने थप १ कित्ता पाई कुल ११ कित्ता शेयर हात पार्नेछन् ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २३ लाख ७२ हजार ९२६ आवेदकबाट २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन परेको छ, जुन माग भन्दा साढे ११ गुणा बढी हो । यसअनुसार २१ लाख ३० हजारभन्दा बढी आवेदकको हात खाली हुने निश्चित भएको छ ।
दरमखोला हाइड्रोले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।
बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषलाई, ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा बिक्री गरिएको थियो ।
आईपीओ निष्कासनको लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
Comments are closed.