काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
यसअनुसार कम्पनीले हालको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर दिनेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुनेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार साउन १५ गतेसम्म नेप्सेमा शेयरधनी भई कायम रहेका लगानीकर्ताले मात्र भदौ १९ देखि असोज ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आवेदन दिनका लागि बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलसँगै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयमार्फत वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । संकलित रकम कम्पनीले बैंकहरूको ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ ।
Comments are closed.