सातै प्रदेश र जिल्लाहरुको भेला तथा अधिवेशन गर्ने तयारीमा जुटेका छौं

महेश कुँवर, महासचिव

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको गत बैशाख १८ गते अधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति चयन भएको छ । महासंघको नयाँ कार्यसमितिले आफ्ना गतिविधिलाई तीव्रता दिइरहेको छ ।

हामीले विशेषगरी हेभी इक्विपमेन्ट व्यवसायसँग सरोकार राख्ने मन्त्रालय तथा सरोकारवालाहरुसँग नियमित भेटघाट तथा छलफल गरिरहेका छौं । साथै महासंघका मागहरुलाई समेटेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायत सरकारका अन्य सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाउँदै महासंघको मागलाई सम्बोधन गर्न दबाब दिइरहेका छौं ।

व्यवसायीको हकहितको पक्षमा काम गर्न महासंघ अग्रणी मोर्चामा लागिरहेको छ । हामीले सबै व्यवसायीको भावनालाई नजिकबाट बुझेर सम्बोधन गर्ने प्रयास गरिरहेका छौं । देशभर रहेका जिल्ला संघहरुसँग समन्वय निरन्तर गरिरहेका छौं । हामीले पछिल्लो समय जिल्ला तथा प्रदेशको अधिवेशनलाई पनि तीव्रता दिएका छौं ।

यसैक्रममा गण्डकी प्रदेशको भेला तथा अधिवेशन भदौ २ गते सोमबार पोखरामा हुँदैछ । पर्यटनको राजधानी शहरसमेत रहेको पोखरामा महासंघको चौथो पूर्ण बैठक पनि तय भएको छ । सोही अवसरमा व्यवसायीहरुको हकहितका लागि ‘व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धी गोष्ठी’ हामीले सोही दिन तय गरेका छौं । सो गोष्ठीमा देशभरबाट व्यवसायीहरु सहभागी हुने कार्यक्रम छ ।

गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएसँगै हामी क्रमशः सातै प्रदेशको भेला तथा अधिवेशन गर्ने तयारीमा जुटेका छौं । त्यसैगरी जिल्ला संघहरुको भेला तथा अधिवेशन पनि क्रमशः गर्ने तयारीमा छौं । संगठन नभएको जिल्लामा संगठन विस्तार गरी महासंघको छातालाई अझ फराकिलो बनाउने अभियानमा हामी सक्रियताका साथ अगाडि बढेका छौं ।

हामीले अगाडि सारेका व्यावसायिक हकहितका कार्यक्रमहरु तथा प्रदेश र जिल्ला अधिवेशन एवं महासंघका हरेक गतिविधिमा देशभरका हेभी इक्विपमेन्ट व्यवसायीहरुको उत्साहजनक साथ रहँदै आएको छ । आगामी दिनमा पनि यहाँहरुको साथ तथा सल्लाह सुझावको समेत हामीले अपेक्षा गरेका छौं ।

यसैक्रममा पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन देशभरबाट तथा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट पोखरामा आउनुभएका हेभी इक्विपमेन्ट व्यवसायी साथीहरुलाई महासंघको तर्फबाट म हार्दिक स्वागत गर्दछु ।

You might also like

Comments are closed.