चितवन । हिमालयन राइडर्स चितवनको आयोजनामा मनसुन राइड सम्पन्न भएको छ । नारायणगढ बजारबाट सौराहस्थित सेभेन स्टार होटलसम्म गरिएको राइडमा ५२ जना सहभागी भएका थिए ।
चितवनका अटोमोबाइल व्यवसायीलाई लक्षित गर्दै राइड आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष अमृत जोशीले जानकारी दिए । पाँचौं संस्करणको यो राइडले आपसी भाइचारा, एकता र रोड सेफ्टीको सन्देश प्रवाह गर्न सफल भएको उनले बताए ।
यसअघि हिमालयन राइडर्सले चितवनबाट मनाङ, रुकुम, बागलुङको ढोरपाटन र तनहुँको मानहुँकोटसम्म समेत राइड सम्पन्न गरिसकेको छ । यसपटकको राइडको संयोजन सुवास कँडेलले गरेका थिए । कार्यक्रम अन्तर्गत स्लो राइड प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा सुरेन्द्र चौधरी प्रथम, कृष्ण मुरारी द्वितीय र प्रशान्तराज भण्डारी तृतीय भएका छन् ।
अध्यक्ष जोशीले आगामी दिनमा पनि यस्ता राइडहरु निरन्तर आयोजना गर्दै मैत्रीपूर्ण सम्बन्ध विस्तार र सुरक्षित यात्राको सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरे । हिमालयन राइडर्सको निरन्तर प्रयासले मोटरसाइकल राइडमार्फत चितवनको व्यावसायिक समुदायलाई मात्र होइन, पर्यटन प्रवर्द्धनमा पनि योगदान पुगेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
Comments are closed.