काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेको छ ।
सोमबारदेखि सुरू भएको ‘जेन–जी’ आन्दोलन देशव्यापी चर्किदै गएपछि महासंघले अनिश्चित कालका लागि यात्रु तथा मालबाहक सवारी बन्द गर्ने घोषणा गरेको हो ।
महासंघले एक विज्ञप्ति जारी गर्दै सवारी साधनको सुरक्षा सुनिश्चित नभएसम्म यातायात सेवा बन्द गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कफ्र्यु आदेश जारी भएकाले सवारी साधन चलाउन असहज भएको महासंघले उल्लेख छ ।
साथै, महासंघले आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनकारी सरकारले गरेको बर्बर दमनको कडा निन्दा गरेको छ। आन्दोलनका क्रममा प्रहरीले हानेको गोलीबाट १९ जना विद्यार्थी मृत्यु भएको खबरले आफूहरू स्तब्ध भएको महासंघले जनाएको छ ।
साथै, महासंघले घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ । महासंघले आफ्ना सबै सदस्य संघ, समिति र कम्पनीलाई घाइतेको उपचारमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।
महासंघले सरकार र आन्दोलनकारी दुवै पक्षलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।
Comments are closed.