दशैँ अवधीभर काठमाडौं–नारायणगढ साझा यायायात सेवा सञ्चालन, एकतर्फी भाडा ३०० मात्रै

काठमाडौं । दशैँको अवसरमा साझा यातायातले काठमाडौं–नारायणगढ बस सेवा सञ्चालन गरेको छ । हिजोदेखि कोजाग्रत पूर्णिमासम्मका लागि बस सेवा सञ्चालन शुरू गरेको जनाइएको छ ।

यात्रुलाई सहज, सस्तो र भरपर्दो यात्रा गराउने उद्देश्यले दशैँ मनाउन जाने÷आउनेको चापलाई समेत ध्यानमा राखी सेवा सञ्चालन गरिएको साझा यातायातले निकालेको सूचनामा उल्लेख छ । पुल्चोक साझा यातायातबाट बस निस्कने र लगनखेल–सातदोबाटो–कोटेश्वर–गौशाला–चक्रपथ–गोङ्गबु बसपार्क हुँदै कलंकीबाट नारायणगढका लागि प्रस्थान गर्नेछ ।

बस सेवा कलंकीबाट विहान सात बजेदेखि शुरू भई हरेक एक घण्टाको अन्तरमा यात्रुहरू लिएर नारायणगढका लागि बस प्रस्थान गर्नेछ ।विहान सात बजे, आठ बजे, नौ बजे, १० बजे, ११ बजे र १२ बजे नारायणगढका लागि बसहरू प्रस्थान गर्ने र नारायणगढ पुगेपछि ती बसहरूले यात्रुहरू लिई नारायणगढ बस पार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्कने साझा यातायातले जनाएको छ ।

यात्रा गरेबापत यात्रुले एकतर्फी तीन सय रुपैयाँ तिर्नुपर्ने र अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने छ । साझा यातायातका अनुसार बसमा यात्रा गर्दा सिटमा बाहेक उभिएर वा मुडामा बसेर यात्रा गर्न पाइने छैन । टिकट लिए/नलिएको वा दिए/नदिएको विषयमा ठाउँ–ठाउँमा अनुगमनको व्यवस्था गरिएको छ ।

टिकट नलिइ यात्रा गर्ने यात्रुलाई प्रचलित नियम/कानुन बमोजिम कारबाही हुने, टिकट नदिने परिचालक वा चालकसमेतलाई कामबाट हटाउने साझाले जनाएको छ । साझाले नारायणगढसम्मको भाडा एकतर्फी ३०० रुपैयाँ तोकेको छ । यात्रुले अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।

You might also like

Comments are closed.