युवाको नेतृत्वसँगै बदलिएका सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

सुशीला रेग्मी

रामपुर (पाल्पा) । युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन् कि देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा धेरै परिवर्तनका लहर झल्किएका छन् ।

कुनै समय विद्यार्थी नियमित रुपमा विद्यालय नआउने, बिना पोशाक विद्यालय आउने, गृहकार्य नियमित नगर्ने, पढाइमा चासो नदिने, अभिभावकले पनि आफ्ना बालबच्चाले विद्यालयमा कस्तो पढीरहेको छन् त ? यस बारेमा वेवास्ता गर्ने । शिक्षक नियमित रुपमा विद्यालय समयमा नबस्ने, समयमा विद्यालय नआउने जस्ता समस्याले अपेक्षाकृत विद्यालयको शैक्षिक तथा भौतिक वातावरण फेरिएको थिएन ।
पछिल्ला वर्षमा भने शैक्षिक क्षेत्रमा युवा नेतृत्व आएपछि धेरै परिवर्तनका लहर आएका छन् ।

यस्तै ज्वलन्त उदाहरण बनेको छन्, पाल्पा रामपुर नगरपालिकाका शैक्षिक संस्था । यहाँका शैक्षिक संस्थामा युवा नेतृत्वले धेरै सुधार हुँदै गएका छन् । रामपुर आधारभूत विद्यालयमा आजभन्दा तीन वर्ष अघि विद्यार्थी सङ्ख्या अनुपात हेर्ने हो भने अति न्युन थियो । विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल पथ्र्यो । कुनै समय यो विद्यालय धेरै विद्यार्थी पढ्ने विद्यालयको नामले अग्रपङ्क्तिमै पर्दथ्यो । समयानुकुल शैक्षिक गतिविधि अगाडी बढाउन नसक्दा बीचमा विद्यार्थी सङ्ख्या पातलिदै गयो ।

युवा नेतृत्वको कुशल जिम्मेवारीले अहिले विद्यालयको अवस्था बदलिएको छ । आजभन्दा तीन वर्ष अघि ८७ जना विद्यार्थी रहेको यो विद्यालय अहिले दोब्बर बढी बढेर दुई सय दुई पुगेको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या मात्रै फेरिएको होइन, भौतिक संरचना, विद्यालयको पूरै वातावरण नै नयाँ स्वरुपको बनेको छ । युवाको गहन र कुशल जिम्मेवारीले विद्यालय फेरिने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, प्रधानाध्यापक विजय शर्मा । प्राथमिक तहमा स्थायी दरबन्दीमा नियुक्त लिए पश्चात् विसं २०७९ चैत २० गते रामपुर आधारभूत विद्यालयमा पदस्थापन भएका प्रअ शर्माले तीन वर्षमै विद्यालय सुधार गरेर नमुना विद्यालय बनाउन सफल भए ।

उनले यो विद्यालयमा नियुक्त लिदाको समय ८७ जना मात्रै विद्यार्थी अध्ययनरत थिए । अहिले भने विद्यार्थी बढेर दुई सय दुई पुगेका छन् । विसं २०६५ देखि बृहस्पति आधारभूत विद्यालय निस्दी गाउँपालिका–५ गल्धाबाट शिक्षण पेशा सुरु गरेका शर्माले विद्यालय सुधार गर्ने अठोट लिएर स्थायी नियुक्ति पश्चात् रामपुर आधारभूत विद्यालय आएको बताए ।

“विद्यार्थी सङ्ख्या न्यून, समयमा विद्यार्थी तथा शिक्षक विद्यालयमा उपस्थित नहुने, चुहिने कक्षाकोठा, खानेपानी, शौचालय समस्या, अव्यवस्थित विद्युत जस्ता विविध समस्यासँग कछुवा गतिमा चलिरहेको विद्यालय सुधार गर्न सुरुमा कठिन थियो” उनले भने,–“अभिभावक पनि नयाँ शैक्षिक सत्र सुरु भएपछि अन्यत्र आफ्ना बालबालिका विद्यालय भर्ना गर्न लैजाने तयारीमा हुनुहुन्थ्यो भने शिक्षक, कर्मचारीमा शिक्षण पेशाप्रति उत्साह थिएन्, तर मैले हिम्मत गरेर विद्यालय सुधार्नुपर्छ भनेर लागेपछि अहिले हेर्न लायकको विद्यालय बनेको छ” ।

समयमा विद्यालय नआउने विद्यार्थी तथा शिक्षक हिजोआज भने समय अगावै विद्यालय आउन आतुर हुने गरेको उनले सुनाए । पहिला शैक्षिक सामग्री, फर्निचर अभाव थियो । अहिले सो समस्या छैन । प्रयाप्त शैक्षिक सामग्री, फर्निचरको व्यवस्था छ । निजि स्रोतमा कार्यरत शिक्षकको हरेक वर्ष तलब बृद्धि, विद्यार्थी सङ्ख्या बढेपछि दरबन्दी थप, आधुनिक शिक्षण पद्धत्तिको व्यवस्था, अनुशासन, समयपालना र मेहनतका कारण विद्यालयले आफ्नो पहिचान फरक बनाउन सफल भएको प्रअ शर्माको अनुभव छ ।

उनी भन्छन्, “सुरुमा विद्यालयमा हाजिरी भएपश्चात् यहाँको गतिविधि बुझ्दा सुधार गर्न सकिएला जस्तो थिएन, विद्यार्थीले नियमित पोशाक नलगाउने, समयमा उपस्थित नहुने, केही शिक्षक त विद्यालयले बनाएको नियम पालना गर्न नसकेर विद्यालय छोडेर पनि जानुभयो, विद्यालय सुधार गरेर विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनेमा म दृढ सङ्कल्प लिएर अघि बढेको छु, अहिले शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा समुदायको राम्रो साथ पाएको हुँदा काम गर्न सहज वातावरण बनेको छ” ।

यस विद्यालयमा विसं २०७८ मा ८६ जना, ०७९ मा ८७ जना, ०८० मा एक सय ४६, ०८१ मा एक सय ७६ र ०८२ मा दुई सय दुई जना विद्यार्थी सङ्ख्या रहेको शिक्षक तुलसी गौतमले जानकारी दिइन् । पछिल्ला तीन वर्षमा ह्वात्तै विद्यार्थी बढेको पाइएको छ । यस शैक्षिक सत्रमा २६ जना विद्यार्थी नयाँ भर्ना भएका छन् । कक्षा नर्सरीदेखि ८ सम्म पठनपाठन हुने यस विद्यालय अहिले रामपुरकै नमुना र उत्कृष्ट विद्यालयमा पर्ने गर्दछ । पहिला साढे १० बजेसम्म विद्यार्थी, शिक्षक विद्यालय आउने गरेकोमा अहिले ९ : ५० मा प्रवेशद्धार बन्द गरिन थालिएको छ ।आवश्यकता अनुसार पालैपालो शिक्षक विहान ६ बजेदेखि साँभm ६ बजेसम्म विद्यालयकै काममा खट्ने गरेका छन् ।

विद्यालयको वातावरण राम्रो हुँदै गएपछि यसले समुदायमा राम्रो प्रभाव पार्न थालेकाले बोर्डिङ स्कुल छाडेर आफ्ना बालबालिका यस विद्यालयमा पढाउन थालेको अभिभावक संगीता काफ्ले बताउँछिन् । उनका दुई जना छोराछोरी यही विद्यालयमा पढ्छन् । उनले यसभन्दा अघि भुपु सैनिक राईजिङ ईङ्लिस बोर्डिङ स्कुलमा पढ्दै गरेको छोरालाई यसै शैक्षिक सत्रबाट कक्षा ५ मा भर्ना गरेर पढाउन थालेको बताइन् । बेला–बेलामा विद्यालयले बोलाएर अभिभावकलाई आफ्ना छोराछोरी कत्तिको प्रगति गरे सबै जानकारी दिने, राय सल्लाह सुझाव लिने गरिरहेको हुँदा अभिभावकलाई पनि स्कुलप्रतिको माया बढेर गएको उनले अनुभव सुनाइन् ।

“निजि विद्यालयमा महँगो शुल्क तिरेर पढाउन भन्दा सरकारी विद्यालयमा कम शुल्कमा राम्रो पढाइ भएपछि बोर्डिङबाट छुटाएर यहाँ ल्याएको छु, विद्यालयको पढाइ राम्रो छ, अब निजि बोर्डिङ स्कुलमा पढाउनुपर्ने अवस्था छैन, सबै सुबिधा सरकारी स्कुलमा नै पाइने रहेछ” अभिभावक काफ्लेले भनिन् ।

गृहकार्यमा सुधार, विद्यार्थी नियमित विद्यालय आउने वातावरण तयार, बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालय खुल्ला र पालो गरेर शिक्षकले विद्यालयको रेखदेख गर्ने व्यवस्था, प्रत्येक विद्यार्थीको व्यक्तिगत अभिलेख राख्ने, प्रत्येक कक्षाकोठामा बुक कर्नरको व्यवस्था, प्रत्येक कक्षाकोठाको अगाडी डिस्प्ले बोर्ड, मासिक रुपमा आन्तरिक परीक्षा लिइने, प्रत्येक दिन शिक्षकले विद्यार्थीलाई स्वागत गर्ने, योगध्यान साधनाको निरन्तर अभ्यास, रामपुर नगरमै नयाँ विषयको रुपमा संस्कारसहितको शिक्षा सुरु गरिएपछि विद्यार्थी तथा अभिभावकको रोजाइमा विद्यालय पर्ने गरेको छ ।

यस शैक्षिक सत्रदेखि संस्कारसहितको शिक्षा नामक विषय समावेश गरी पठनपाठन सुरु गरेको शिक्षक चम्पा गौतमले बताइन् । पाठमा समावेश विभिन्न समुदायका चाडपर्व, संस्कार, संस्कृति, रितिरिवाज, वेषभूषा, आदर सत्कार, अनुशासन, नैतिक आचरण, दैनिक गर्नुपर्ने क्रियाकलाप जस्ता विषय पढाउने गरेको उनी बताउँछिन् । “विद्यार्थीले पाठ सुरु गर्नुपूर्व संस्कार, संस्कृतिसँग जोडिएका विभिन्न श्लोक तथा पाठ वाचन गर्छन्, कक्षाकोठामा विषय नै समावेश गरी पढाउन थालेपछि विद्यार्थीको आनीबानीमा धेरै कुराहरु परिवर्तन आएको छ, उनीहरु ज्ञानी, सरल, सदाचार बन्दै गएको पाइएको छ” उनले भनिन् ।

आन्तरिक परीक्षाका लागि बाहिरका पालिकाबाट तयार पारिएका प्रश्नपत्रबाट परीक्षा लिइने, नतिजामा सुधार, कमजोर विद्यार्थीलाई सुधारका लागि छुट्टै शिक्षकको व्यवस्था, मासिक रुपमा शिक्षक, कर्मचारीको अनिवार्य बैठक, कक्षा अनुसार हरेक महिना अभिभावक भेला, विभिन्न तहमा शिक्षकलाई जिम्मेवारी दिएर शिक्षण कार्य सञ्चालन भइरहेको छ । विद्यालयको शैक्षिक स्तर उकासिदै जादा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी यस विद्यालयमा भर्ना भई अध्ययनका लागि आउने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिए । युवा नेतृत्वले संस्था कसरी बन्छ भन्ने उदाहरण आफ्नै विद्यालयले प्रस्तुत गरेको उनी बताउँछन् ।

“शैक्षिकस्तर सुधार गर्न समितिले प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई कुनै अप्ठ्यारो स्थिति सिर्जना गरेको छैन, यसमा समितिले सहजीकरण गर्दै आइरहेको छ, विद्यालय सुधार गर्न कुशल प्रशासनिक अनुभव भएको प्रअ चाहिने रहेछ, प्रअ विजय शर्माको आगमन भएपछि विद्यालयमा धेरै परिवर्तन आएको छ” उनले भने । हाल विद्यालयमा स्थायी दरबन्दीमा चार जना, निमावि राहत दरबन्दीमा एक जना, प्रावि राहत दरबन्दीमा दुई जना, बालविकास राहत दरबन्दीमा एक जना, शिक्षण निमावि अनुदानमा एक जना, निजि स्रोतबाट सात जना, कार्यालय सहयोगी राहत दरबन्दी एक जना गरी जम्मा १७ जना शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीमध्ये दुई जना पुरुष बाहेक सबै महिला रहेका छन् ।

करिव १२ रोपनी क्षेत्रफल विद्यालयको नाममा रहेको छ । चारैतिर पक्की घेराबार गरिएको पाँचवटा भवनमा १२ वटा शैक्षिक प्रयोजनका लागि कक्षा सञ्चालन भइरहेको छ । दुईवटा प्रशासनिक कक्ष रहेका छन् । विद्यालयको आयस्रोत भनेको चमेनागृह, विद्यालय ट्रष्ट भवनबाट मासिक ३१ हजार आम्दानी भइरहन्छ । विसं ०४६ मा कक्षा १ देखि ३ सम्म स्थापना भएको विद्यालय, ०५३ मा कक्षा ४ र ५ स्वीकृत, ०६५ मा ६ देखि ८ सम्म स्वीकृत भई विद्यालय नियमित सञ्चालन भइरहेको छ । विद्यार्थीका लागि छात्रावास र शिक्षकका लागि आवाशसहितको सुविधायुक्त भवन निर्माण गर्ने, करेसावारी र फुलवारी, कृषि उत्पादनका लागि विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्ने, इन्टरनेटको प्रयोग गरी स्मार्टबोर्ड र प्रोजेक्टरबाट कक्षा सञ्चालन गर्ने, खेलमैदानको उपयुक्त व्यवस्थापन गर्ने, योगध्यान, साधना र खेलकुदलाई जोड दिने जस्ता विद्यालयका लक्ष्य रहेका छन् ।

यस्तै रामपुरकै अर्को नमुना विद्यालय हो, बेलघारी प्राथमिक विद्यालय । रामपुर नरपालिका–१ क्वाङक्वाङमा यो विद्यालय पनि युवाकै नेतृत्वमा चलेको छ । युवा प्रधानाध्यापक छापबहादुर थापाको नेतृत्वमा विद्यालय चलिरहेको छ । युवा नेतृत्व पश्चात् विद्यालयले मुहार फेर्दै गएको छ । पहिला यस विद्यालयमा नियमित रुपमा विद्यार्थी आउँदैनथे । अभिभावकले पनि विद्यालयप्रति चासो देखाउँदैनथे । हिजोआज भने युवाको नेतृत्वले विद्यार्थी नियमित आउने र विद्यालयप्रति अभिभावकले चासो देखाउने, सल्लाह सुझाव दिने गरेको प्रधानाध्यापक थापाले बताए ।

विसं ०७१ माघ १९ गते देखि बेलघारी प्राविबाट करारमा नियुक्त भई शिक्षण सेवामा प्रवेश गरेका थापाले ०७५ को कात्तिक १८ देखि प्रअको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी स्थायी सेवामा ०७५ चैत २९ गते प्रावि तहमा नियुक्त भएका हुन् । “हरेक संस्थामा युवा नेतृत्वलाई जिम्मेवारी दिइयो भने काम गर्न सजिलो हुन्छ, युवा उमेरमा ऊर्जावान् शक्ति हुने भएकाले नेतृत्व युवाकै हातमा हुनुपर्छ, हाम्रो विद्यालयमा कार्यरत शिक्षक युवावस्थाकै भएकाले काम गर्न धेरै सजिलो छ” प्रअ थापाले भने ।

कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ । नगरपालिकाको ग्रामीण भेगमा पर्ने यस विद्यालयको वातावरण फेरिएपछि यहाँका स्थानीयबासी, अभिभावक, सरोकारवाला निकाय सबै दङ्ग छन् । हाल यस विद्यालयमा ४७ जना विद्यार्थी अध्ययनरत छन् । विसं २०२२ सालमा स्थापना भएको यस विद्यालयले लामो इतिहास बोकेपनि समग्रमा विद्यालयको शैक्षिक तथा भौतिक वातावरणमा परिवर्तन आएको थिएन । पछिल्ला वर्षमा युवा नेतृत्वले विद्यालयको समग्र पक्षमा सुधार हुँदै गएको छ ।

रामपुर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा युवा नेतृत्वले शैक्षिक क्षेत्रमा धेरै सुधार आएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउँछन् । “युवा नेतृत्वमा चलेका विद्यालयको वातावरण नै बदलिएको छ, हिजो विद्यार्थी सङ्ख्या न्युन भएर गाँभिन लागेका, शैक्षिक तथा भौतिक क्षेत्रमा पछाडी परेका विद्यालय अहिले नमुना विद्यालय बनाउन सफल भएको देख्दा खुशी लागेको छ, नमुना विद्यालयको रुपमा पछिल्ला वर्ष अवलोकनका लागि विभिन्न स्थानबाट शैक्षिक संस्थाको समूह आउने गरेका छन्” अधिकृत काफ्लेले भने ।

 

 

 

You might also like

Comments are closed.