सेन्ट जर्ज स्कुलका विद्यार्थीलाई दूधपान

काठमाडौं । नेपाल डेरी एसोसिएसनले काठमाडौंको हाँडिगाउँस्थित सेन्ट जर्ज स्कुलमा दूधपान कार्यक्रम गरेको छ । एक कार्यक्रमकाबीच विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दूधपान गराइएको छ ।

कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले विश्व स्कुल दूध दिवस विश्वभर बालबालिकाले दूध सेवन गर्नबाट वञ्चित हुन नपरोस् भनेर मनाउन शुरु गरिएको एउटा वार्षिक कार्यक्रम रहेको बताए । विद्यालयमा आयोजना गरिने यस कार्यक्रमबाट विद्यार्थीले दूध किन सेवन गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउन महत्वपुर्ण भुमिका खेलिरहेको हुँदा यसले बालबालिकामा पोषण, स्वास्थ्य र पढाइमा सुधार ल्याउन मद्धत पुग्ने उनी बताउँछन् ।

कार्यक्रम एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाले विद्यालयमा आयोजना गरिएको यस कार्यक्रमको प्रभावकारिता बढ्दै गएको जानकारी दिए । दूधको स्वाद परीक्षण, विद्यालयमा दूध वितरण कार्यक्रम, पोषण शिक्षा कार्यशाला, दूधका स्वास्थ्य फाइदाबारे सचेतनामूलक कार्यक्रम लगायत विभिन्न गतिविधि गर्दै आइरहेको अध्यक्ष दाहाल बताउँछन् । उनका अनुसार डेरी फार्म भ्रमण वा आवासिय भ्रमण कार्यक्रम, सामाजिक सञ्जाल, पोस्टर, जनचेतना अभियानहरू प्रयोग गर्ने जस्ता कार्यक्रम भइरहेका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत शंकर अधिकारीले स्कुल दूध कार्यक्रमले बालबालिकालाई नियमित रुपमा पौष्टिक दूध पहुँच सुनिश्चित गर्ने बताए । एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलाले दूध उत्पादन र डेरी उद्योगमा संलग्न कृषकहरू र स्थानीय समुदायलाई पनि सुदृढ बनाउने अवसर जुट्ने, जनचेतना फैंलिदा खपतमा वृद्धि हुने बताए ।

एसोसिएसनका केन्द्रीय सदस्य रमेश सन्जेलले यो दिवस विश्वभर सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने गरेको जानकारी दिए ।विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईले विद्यालयमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमको अपेक्षा गरेको जनाए ।

नेपालमा विश्व स्कुल दूध दिवस सन् २०१६ बाट नेपाल डेरी एसोसिएसनले मनाउन शुरु गरेको हो । यसवर्ष ‘बालबालिकाको स्वास्थ्य त उज्ज्वल भविष्य दैनिक दूध अनिवार्य’ भन्ने नाराका साथ देशैभर एसोसिएसनका प्रदेश र जिल्ला समितिले विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

You might also like

Comments are closed.