काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच दुई देशका व्यापारीलाई व्यावसायिक प्रतिनिधिमण्डलले प्रत्यक्ष जोड्ने तयारी भएको छ ।
आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको निर्यात चेम्बरबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यवसायिक फोरममा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले श्रीलङकाको आर्थिक पुर्नउत्थानको विषयमा पनि अध्ययन गर्ने चेम्बरले उल्लेख गरेको छ ।
दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता एमओयु भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्झौतामा चेम्बरका तर्फबाट उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय समितिका सभापति अर्जुनप्रसाद शर्मा र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर गरेका छन् ।
दुवै पक्षले आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न, र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । सम्झौताअनुसार दुवै संस्थाले स्थानीय तथा राष्ट्रिय आर्थिक प्रवृत्ति, बजारसम्बन्धी तथ्याङ्क, वैदेशिक व्यापार नीति र लगानी प्रोत्साहन सम्बन्धी जानकारी नियमित रुपमा आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
श्रीलङकाका लागि नेपाली राजदूत डा.पुर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल एवं श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सका अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितीमा सम्झौता गरिएको हो ।
Comments are closed.