लेखनाथ । चाडपर्वको अवसरमा उपभोक्ताको हकहित सुरक्षित गर्न रुपा गाउँपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङको नेतृत्वमा वडा प्रतिनिधि, कार्यालयका कर्मचारी, पत्रकार र सुरक्षा निकायको संयुक्त टोलीले वडा नं. ३, ४, ५, र ६ का विभिन्न बजार क्षेत्रको अनुगमन गरेको हो ।
अध्यक्ष ओझाले चाडवाडमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर अत्यधिक नाफा कुम्ल्याउने कार्य हुन सक्ने सूचना पाएपछि अनुगमनलाई कडाइ गरिएको जानकारी दिए । उनका अनुसार मूल्य, तौल, गुणस्तर, म्याद, सरसफाइ, कानूनी कागजात र उपभोक्ता अधिकारलाई बजार अनुगमनका मुख्य आधारका रूपमा लिइएको छ ।
उपाध्यक्ष गुरुङको नेतृत्वमा वडा प्रतिनिधि, कर्मचारी, पत्रकार, प्रहरी, राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधि र स्थानीय तहका टोलीले देउराली, काफलडाँडा, ढुङ्गागाडे, रुपाताल, रुपाकोट, भिरचोकलगायतका स्थानमा पुगेर अनुगमन गरेको छ ।
अनुगमनका क्रममा वडा नं. ५ का वडाध्यक्ष राजन खनालले केही पसलबाट म्याद सकिएका उपभोग्य वस्तु जफत गरिएको जानकारी दिए । बरामदमा परेका वस्तुमा मिन्टु मसला, दालमोट, नरिवल लड्डु, दाल, सुजी, चिउरा, हरियो मटर, आलु, गोडभेडा, बन्दगोभी तथा कोल्ड ड्रिङ्स लगायतका करिब ५ किलो अखाद्य वस्तु रहेका छन् ।
जफत गरिएका वस्तु सम्बन्धित पालिकाका अधिकृतको रोहवर, स्वयम् व्यापारि र अनुगमन टोलीले तत्काल जलाएर नष्ट गरेको छ । गाउँपालिकाले यस्ता अनुगमन कार्यलाई आगामी दिनमा थप निरन्तरता दिने जनाएको छ ।
Comments are closed.