काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेटघाट गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री सिन्हासँग भेटघाट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे छलफल गरेको हो ।
मन्त्री सिन्हाले सरकार र व्यवसायीको सहकार्य बिना अघि बढ्न नसक्ने बताउँदै उद्योग–व्यावसायलाई सबल बनाउन सरकार सजग रहेको बताए । देशलाई आत्मनिर्भर बनाउन सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा ध्यान दिनुपर्ने र व्यवसायीको आवाज सरकारका लागि मार्गदर्शन हुने मन्त्री सिन्हा बताउँछन् । मन्त्री सिन्हाले नाडाले प्रस्तुत गरेका माग र सुझावलाई सकारात्मक रूपमा लिएर छिट्टै कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरे । साथै आगामी ६ महिनापछि मन्त्रालयले गरेका कामको व्यवसायीले मूल्याङ्कन गरी सुझाव दिनुपर्ने उनको भनाइ छ ।
छलफलको क्रममा अध्यक्ष चौधरीले हालैको जेन–जेड आन्दोलनका क्रममा अटोमोबाइल उद्योगमा प्रत्यक्ष उत्पादनमा क्षति नभए पनि धेरैजसो शोरुम, कार्यालय र संरचनामा आगजनी तथा तोडफोडले उद्योग क्षेत्रमा ठूलो चुनौती थपिएकाले ग्राहक मन्त्रालयले नीतिगत र संस्थागत सहयोग गरेर उद्योगलाई संरक्षण गर्नुपर्ने बताए ।
नेपालमा उत्पादित वस्तुको गुणस्तर परीक्षण र प्रमाणिकरण गर्नका लागि मन्त्रालय अन्तर्गत रहेको नेपाल गुणस्तर तथा नापतौल विभाग अझै पर्याप्त परीक्षण उपकरणविहिन रहेकाले नेपालमै बनेका वस्तुले समेत गुणस्तर चिन्ह पाउन नसक्ने अवस्था भएको जानकारी दिए । यसले घरेलु उद्योगको विश्वसनीयता र बजारमा प्रतिष्पर्धात्मक क्षमता दुवैमा बाधा पुर्याइरहेको भन्दै तत्कालै परीक्षण सुविधा स्थापना गर्न अध्यक्ष चौधरीको आग्रह छ ।
नेपालमा हाल करिब १६ वटा लुब्रिकेन्ट उद्योग सञ्चालनमा रहेको र केही थपिने प्रक्रियामा रहेको जानकारी दिँदै यी उद्योगको संरक्षण र प्रवद्र्धन गर्नु अत्यावश्यक रहेको उनी बताउँछन् । भारतको कर प्रणालीमा हालै गरिएको फेरबदलका कारण अनधिकृत आयात बढ्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै अध्यक्ष चौधरीले यसको रोकथामका लागि सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्ने सिफारिस गनुपर्ने बताए ।
छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमै उत्पादित टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्री उद्योगले गुणस्तर चिन्ह पाउन निकै कठिनाइ भएको गुनासो सुनाए । अन्तर्राष्ट्रिय प्रचलन अनुसार लुब्रिकेन्ट्स् आयातका लागि आयातकर्ताले अनिवार्य रूपमा एपिआई वा अन्य मान्यता प्राप्त संस्थाबाट जारी प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थाबारे सरकारलाई सचेत गराउँदै नेपालकै उद्योगलाई पनि त्यस्तै स्तरमा लैजान प्रोत्साहन गर्नुपर्ने उप्रेतीको भनाइ छ । नेपालमा रहेका ११ वटा ब्याट्री कारखानालाई आधार बनाएर ब्याट्री रीसाइक्लिङ प्लान्ट स्थापना गर्नुपर्ने माग समेत उनले माग गरेका छन् ।
नाडाका केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरीले सरकार र व्यवसायी परस्परपूरक भएको भन्दै दुवै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । सदस्य निशान ढकालले व्यावसायिक सवारी साधनको बजार खस्कदै गएको भन्दै यसलाई गतिशील बनाउन नेपालकै उत्पादनमा आधारित क्रसर उद्योग विस्तार गर्नुपर्ने सुझाव राखे । सदस्य अभिक ज्योतिले बजारमा गुणस्तर चिन्ह नभएका हेलमेट व्यापक प्रयोगमा रहेको तथ्यलाई औंल्याउँदै नेपालमा उत्पादन वा आयात हुने सम्पूर्ण हेलमेटलाई अनिवार्य रूपमा गुणस्तर चिन्ह दिनुपर्ने प्रस्ताव राखेका छन् ।
मन्त्रालयका सचिव कृष्णप्रसाद राउतले छिट्टै गुणस्तर परीक्षण ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै व्यवसायीले पनि ल्याब स्थापना गर्न सक्ने वातावरण बनाउन प्रोत्साहित गरे । भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं केन्द्रीय कार्यसमिति सदस्य लगायत सहभागी थिए ।
Comments are closed.