काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार भएको भेटमा एनआरएनएको टोलीले अन्तरिम सरकारलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै विभिन्न विषय समेटिएको ज्ञापन पत्र बुझाएको छ ।
छलफलमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले अहिले संघले हालै प्रदर्शनका क्रममा क्षतिग्रस्त ट्राफिक प्रहरीको कन्ट्रोल रुम पुनःनिर्माणमा काम गरिरहेको र थप अरू के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।
भेटमा प्रधानमन्त्री कार्कीले देश विकासमा एनआरएनको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अहिलेको कठिन परिस्थितिमा नेपालको पुनःनिर्माणमा सघाउन विश्वभरीका नेपालीलाई आग्रह गरिन् । उनले नेपाल सरकार संघसंग सहकार्य गर्न तत्पर रहेको बताइन् ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत भदौ २३ र २४ मा जेनजीद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनाहरू ध्वस्त भएको बताउँदै अहिले तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने मेसिन आवश्यक रहेकाले त्यसका लागि सहयोग गर्न एनआरएनलाई आग्रह गरेका छन् ।
अध्यक्ष श्रेष्ठले यस विषयमा कार्यसमितिको आगामी बैठकबाट निर्णय गर्ने बताएका छन् । छलफलमा एनआरएनका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले सरकारलाई आवश्यकपर्ने कुनै प्रोजेक्ट भए आफू नेतृत्वको एमआईटी फाउन्डेसन सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनआरएनका पूर्व अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह गर्दै सामाजिक सुरक्षा कोषको रकम देश विकासमा परिचालन गर्न आग्रह गरे । संसारभरिका एनआरएनहरू नेपालमा हालै भएको धनजनको क्षतिबाट दुखि भएको जनाउँदै पुनःनिर्माणमा हातेमालो गर्न तत्पर रहेको उनले बताएका छन् ।
एनआरएनकै पूर्व अध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष र रेमिट्यान्सलाई बचतमा रूपान्तरण गर्ने सामूहिक लगानीका विषयहरू उठाएका छन् । उनले श्रमिक नेपालीको समस्या सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह पनि गरेका छन् ।
एनआरएन अगुवाले नेपालमा निजी क्षेत्र लगायत एनआरएनको निजी सम्पत्ति तथा लगानीको सुरक्षा प्रत्याभूति गर्न पनि आग्रह गरेका छन् । भेटघाटमा एनआरएनए उच्चस्तरीय समितिका सदस्य सचिवद्वय रबिना थापा तथा जानकी गुरुङ, जमुना घले, युएनडीओका अध्यक्ष सोनाम लामा लगायत सहभागी थिए ।
Comments are closed.