काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को शुभारम्भ गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको सहभागितामा सुरु गरिएको यस प्रणालीमार्फत मन्त्रालयका कार्यालयस्तरका कामकाज अब डिजिटल माध्यमबाट सञ्चालन हुने भएका हुन् ।
सूचना तथा सञ्चार प्रविधि विभागले विकास गरेको जिआइओएमएस प्रणालीले फाइल स्वीकृति, आदेश तथा टिप्पणी निर्णय, चिठ्ठीपत्रको दर्ता र चलानी, हाजिरी, बिदा र काज स्वीकृति, अभिलेख व्यवस्थापन जस्ता कार्यहरू विद्युतीय माध्यमबाट गर्न सकिने बनाएको छ । यसमा विद्युतीय हस्ताक्षर अनिवार्य गरिएको छ ।
यस प्रणालीको प्रयोगले काम छिटो, सहज, पारदर्शी र मितव्ययी ढंगले सम्पन्न हुने विश्वास गरिएको छ । साथै, कागजरहित (पेपरलेस) शासनको अवधारणालाई अघि बढाउने लक्ष्य राखिएको छ । अर्थ मन्त्रालयले अब सबै कार्यालयीन प्रक्रियामा जिआइओएमएस प्रणाली प्रयोग अनिवार्य गरिसकेको छ ।
Comments are closed.