जेनजी आन्दोलनले हल्लाएको नेपाली अर्थतन्त्र

राधिका ढकाल

काठमाडौं ।  जेन जी युवाहले नेपालमा भष्ट्राचारको अन्त्य र सुशासन कायम हुनु पर्ने लगायत मुलुक सुधारका विविध मागसहित सेप्टेम्बर ८ (भदौ २३ गते) आन्दोलन आह्वान गरे । सो आन्दोलनका क्रममा पहिलो दिन राज्य पक्षबाट गोली प्रहार हुँदा कम्पनीमा १९ जना युवाहरुको ज्यान गयो । युवाहरुको ज्यान जाने गरी राज्यबाट धरपकड भएपछि दोस्रो दिनको आन्दोलन देशभर हिंस्रक बन्न पुग्यो । पहिलो र दोस्रो दिन गरेर ७२ जना भन्दा बढीको मृत्यु हुने अवस्थामा मुलुक पुग्यो । आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेर पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकारसमेत बनिसकेको अवस्था छ । आन्दोलनका क्रममा मानवीय क्षतिसँगै भौतिक क्षति पनि अत्याधिक हुन पुगेको छ ।

राजधानीको थापाथली क्षेत्रमा केही दिनअघि धुमधामका साथ नयाँ गाडीहरू लिएर चम्किएको अटो बजार अहिले कालो रातको चित्र झैँ बनेको छ । गत भदौ २३ र २४ गते भएकोे जेन–जेड आन्दोलन दोस्रो दिन हिंसात्मक ढंगमा फैलिँदा राजधानीको ‘अटो हब’ ध्वस्त भयो ।
आन्दोलनका क्रममा आगजनी र तोडफोडमा थापाथलीका अधिकांश कार शोरुम निशानामा परे । करिब एक हप्तासम्म शहर चौतर्फी आगोको धुवाँले ओतप्रोत रहँदा दुई दर्जनभन्दा बढी नयाँ ब्राण्डका कार स्टोर तहसनहस बने ।

साउन अन्तिम सातादेखि भदौको पहिलो सातासम्म काठमाडौंमा नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शो जस्ता दुई ठूलो अटोप्रदर्शनीले बजारमा उत्साह भरेका थिए । थापाथलीदेखि भृकुटीमण्डपसम्मका शोरुमहरू चम्किला नयाँ मोडलले भरिएका थिए । उत्साही उपभोक्ताको भीड, सेल्फी लिँदै अफर सोध्ने परिवार र लगानीकर्ताको चहलपहलले सो समय अटो बजारलाई नयाँ उचाइमा पु¥याएको थियो । ती प्रदर्शनीका अन्तिम तथ्याङ्क अनुसार वार्षिक बिक्रीको झण्डै ४० प्रतिशत सवारी साधन बुकिङ भइसकेका थिए ।

दसैं–तिहारको अगाडि गाडी खरिद–बिक्रीमा उछाल आउने समय मान्निछ । नयाँ मोडल, विशेष अफर तथा कर्जा सहुलियतका कारण ग्राहकको उत्साह उच्च थियो र व्यवसायीले आम्दानीको ठूलो हिस्सा चाडपर्वकै समयसम्मका लागि योजना बनाइसकेका थिए । तर भदौ २४ गतेको प्रदर्शनले सबै योजना तहसनहस बनायो । आन्दोलनकारीको समूह अचानक काठमाडौंभरी आगो लगाउने र तोडफोडतर्फ उत्रिएको थियो । थापाथली क्षेत्रमा मात्र करिब ५० वटा नयाँ गाडी जलेर खरानी बनेका छन् । आधा दर्जन अटो शोरुममा आंशिकदेखि पूर्ण आगलागी भएको देखियो भने केही स्थानमा तोडफोड र लुटपाटले सम्पूर्ण भवनलाई ध्वस्त पारिदिएका छन् । करिब एक हप्ता बितिसक्दा धेरै अटो व्यवसायी स्थलमै गएर क्षतिको मूल्यांकन र निरीक्षण गर्दै छन् ।

सबैभन्दा ठूलो क्षति सीजी मोटर्समा पुगेको छ । चौधरी समूहअन्तर्गतको सिजी मोटर्समा रहेका १७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । सिजी मोटोकर्पको सुजुकी शोरुममा पनि ११ वटा गाडीमा क्षति पुगेको छ भने करीब आधा दर्जनमा तोडफोड र आगोले जलेको छ ।
थापाथलीस्थित टाटा मोटर्सको बहुप्रतिष्ठित शोरुममा चार वटा विद्युतीय कार पूर्ण रूपमा जलेका छन् । आन्दोलनकारीले सो स्थानबाट चोरेर लगेको भनिएका दुई टाटा गाडी त्रिपुरेश्वर र धापासीमा जलेको अवस्थामा भेटिएको कम्पनीले जनाएको छ । थप तीन टाटा गाडीमा भित्री भागमा आंशिक क्षति पुगेको छ । टाटा अटोमा झन्डै एक दर्जनभन्दा बढी गाडीमा आगो लागेको छ ।

थापाथलीस्थित महिन्द्रा शोरुममा ५ वटा गाडी पूर्ण रूपमा जलेका छन् र केहीमा आंशिक क्षति पुगेका छन् । कम्पनीका अनुसार ती मध्ये इभी पूर्ण रूपमा खरानी भइसकेको छ । हुन्डाईको शोरुममा आगो नलागे पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । त्यस्तै, थापाथलीस्थित अन्य विभिन्न ब्राण्डका केही कार शोरुममा समेत आंशिक रुपमा क्षति पु¥याइएको छ ।

बजारका व्यापारीहरू आ–आफ्ना क्षतिपूर्ति र सुरक्षाका प्रत्याभूति माग गर्दै सरकार र सम्बन्धित निकायसँग कुरा गरिरहेका छन् । थापाथली र वरपरका प्रभावित क्षेत्र पुनःचलायमान बनाउने वातावरण जुटाउन सबै पक्ष एकै ढङ्गमा लाग्नुपर्ने उनीहरूको तर्क छ ।

व्यापारमा प्रभावित अवस्था
केबल पार्किङमा खडा कारहरूमा आगो लाएर यस्ता क्षति पु¥याउँदा यसले नेपालको अटो उद्योगलाई मात्र होइन हजारौं ग्राहक र उद्यमीको भरोसा पनि ध्वस्त बनाएको छ । दशैं–तिहारका अफर घोषणा गरेपछि बिक्री बढ्ने सम्भावना नजिकिदै गरेका बेला अहिले बजारबाट ग्राहकहरू टाढिएर बसेका छन् । शोरुम हेर्न र गाडी किन्ने उपभोक्तामा कमी आएको छ । यही कारणले आगामी महिनाहरूमा अटो उद्योगको बिक्रीमा अझ थप गिरावट आउने व्यवसायीको चिन्ता छ । काठमाडौं बाहेक पोखरा, चितवन र अन्य शहरका केही अटो डिलरहरूमा पनि आगजनी तथा तोडफोडका घटना भएका छन् । क्षतिको ठोस मूल्यांकन गरिन बाँकी छ तर अधिकांशले यो पुनःनिर्माणमा समय लाग्ने बताएका छन् ।

साउन अन्तिम शाता र भदौ पहिलो साता सम्पन्न देशकै दुई ठूला अटो शोलाई ऐतिहासिक बनाएका अटो व्यवसायीहरु अहिले अटो बजारको अवस्थाप्रति चिन्तित छन् । दशैं–तिहार नजिकिँदै गर्दा उत्सवको रौनक फैलिनुपर्ने समयमा थापाथलीको अटो बजारमा झन् शून्यता र डरत्रास व्याप्त छ । जहाँ केही दिनअघि चम्किला कारहरूको प्रदर्शन थियो, आज त्यही ठाउँ जलेका तस्बिर र खरानी बनेको छ । आन्दोलनले उद्योगलाई मात्र होइन, त्यो उद्योगसँग जोडिएका हजारौं सपनाहरूलाई समेत जलाएको छ ।

त्यस्तै, देशभर भाटभटेनी सुपरमार्केटका १२ वटा स्टोर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । रत्नपार्क, न्यूरोड, भरतपुर, चितवन, पोखरा लगायतका प्रमुख शाखा जलेका छन् । त्यस्तै कोटेश्वरस्थित मुख्य गोदाममा समेत ठूलो क्षति पुगेको छ । सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार जेनजी आन्दोलनमा भएको लुटपाट र आगजनीपछि भाटभटेनीमा प्रत्यक्ष असर परेको छ । ‘एकै चोटीमा पाँच हजारको कर्मचारीको रोजगार धरापमा पर्ने अवस्था सिर्जना भएको थियो तर हामी फेरी उठ्ने छौं, सेवा दिनेछौं भन्ने उद्देश्यका साथ हाम्रा कर्मचारीलाई तलब भत्ताको सुविधासहित अघि बढिसक्यौं, अर्थतन्त्रमा ठूलो असर परेको छ,’ पौडेलले भने । उनका अनुसार प्रत्येक ठूला स्टोरमा करिब ५०० जना कर्मचारी छन्, त्यसमध्ये झण्डै आधा महिला हुन् ।

त्यस्तै होटेल क्षेत्रमा २५ खर्ब बराबरको क्षति पुगेको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले बताए । ‘होटल क्षेत्रमा करिब २५ खर्ब बराबरको क्षति पुगेको छ । यो देशको अर्थतन्त्रसँग सम्बन्धित विषय हो, पर्यटक भने आत्तिनुपर्ने अवस्था छैन । नेपाल सुरक्षित छ, यहाँ आएर पर्यटकहरूले मज्जाले घुम्न सक्छन्,’ उनले भने ।

होटल एसोसियसन अफ नेपालका अध्यक्ष विनायक शाहले पर्यटकलाई नेपाल भ्रमण गर्न कुनै हिचकिचाहट लिन नपर्ने स्पष्ट सन्देश दिँदै नेपाल अझै पनि विश्वकै सुरक्षित र आकर्षक गन्तव्यको रूपमा उभिएको बताए । ‘नेपालमा घुम्न आउन चाहने पर्यटकहरू निर्धक्क, ढुक्क भएर आउन सक्नुहुन्छ । यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्यले उनीहरूको यात्रा अझै रमणीय बनाउनेछ,’ उनले भने ।
टानका अध्यक्ष सागर पाण्डेले जेन्जी आन्दोलनले अप्रत्यक्ष रूपमा पर्यटन पेशासँग जोडिएकाहरूको रोजगारीमा असर परेको बताएका छन् । सेप्टेम्बर महिना त पर्यटक आउने मुख्य सिजन नै हो, तर होटलहरूमा क्षति हुँदा कम्तीमा २ हजार होटलकर्मीले रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । ‘पोखरा, लुम्बिनी, चितवन लगायतका क्षेत्रका होटल तथा रिसोर्टमा समेत आगजनी र तोडफोड हुँदा पर्यटन क्षेत्र र अर्थतन्त्र दुवैमा गहिरो प्रभाव परेको छ,’ उनले भने ।

देशभरका विभिन्न स्थानका निजी निवास तथा कार्यालयहरूमा समेत आगजनी भयो । उच्च सुरक्षा मानिएको सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयका भवन आक्रमणबाट बच्न सकेनन् । ती सरकारी भवनहरू बीमा दायरा भित्र नभएकाले क्षतिको भार राज्यले व्यहोर्नुपर्ने अवस्था छ । तर निजी क्षेत्रका अधिकांश प्रतिष्ठान ऋणमा सञ्चालन हुने र बीमा हुन अनिवार्य हुने भएकाले निजी कम्पनीहरू, बैंक, व्यवसायी र होटलहरुले पुँजीगत संरचना क्षतीको बीमा दावी प्रक्रिया सुरु गरिसकेका छन् ।

रोजगारी र परिवारमा प्रभाव

क्षति, तोडफोड र आगजनीका कारण जीवनयापन अगाडि धैरै चुनौती थपिएको छ । झण्डै १० हजार कर्मचारीले एकैपटक आफ्नो रोजीरोटी गुमाउनु पर्दा ती परिवारहरु समस्यामा परेका छन् । कृषि, उद्योग तथा व्यवसायमा काम गर्ने धेरै मानिसहरूलाई अचानक बेरोजगार बन्दा उनीहरूको घरपरिवारमा समस्या थपिएको छ ।

अर्थतन्त्रमा गिरावट आउदा अन्य समस्या सिर्जना गर्छ । बजारमा चोरी डकैती बढ्न सक्छ, हिंसात्मक घटनाहरू दोहोरिन सक्छन् र राजनीतिक संकट चर्किन्छ । यसले वैदेशिक रोजगारतिर जाने क्रम अझै बढाउन सक्छ । अहिलेको अवस्था कोभिड–१९ र २०७२ सालको महाभूकम्पजत्तिकै गम्भीर भएको श्रम विज्ञ जीवन बानियाले बताए । रोजगारी हराएपछि युवा वर्गमा उजुरी बढ्नेछ, विदेशिने संख्या समेत बढ्ने जोखिम छ । महिला र वृद्धको रोजीरोटी गुम्दा सामाजिक सुरक्षाको अवस्था झन् नाजुक हुनेछ । आर्थिक प्रगति र रोजगारी सिर्जना नै समस्या हुनेबेला अन्तर्राष्ट्रिय सहयोग र लगानी आवश्यक देखिन्छ ।

विगतमा कोभिड–१९ महामारीपछि केही मात्रामा अर्थतन्त्र सुधार हुँदै आएको थियो । अर्थतन्त्रमा यो धक्कालाई ठूलो ठानिएको छ । अहिलेको अवस्थामा नेपालीले सामान्यतः ४४–५० अरब अमेरिकी डलर (करिब ५ खर्ब रूपैयाँ) बराबरको सामान–सेवा उत्पादन गर्ने गर्दछन् । तर बढ़ी लुटपाट र अवरोधका कारण आर्थिक वृद्धिदर यो वर्ष एक प्रतिशतभन्दा कममा सीमित रहने सम्भावना छ । वरिष्ठ अर्थशास्त्री चन्द्रमणि अधिकारीका अनुसार, ‘वित्तीय वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धि दर १% को वरपर रहनेछ ।’
उद्योग–व्यवसाय बन्द हुँदा सरकारले पाउने करआर्जन, बिचौलियाहरूको आय र वित्तीय कारोबारमा समेत न्यूनता आउनेछ । मुद्रा स्फिति र विनिमय दर माथि तनाव बढ्नेछ । आगामी बजेट निर्माणमा यसका असर परेकाले नयाँ परियोजनाको योजना पुनःपरीक्षण हुन सक्छ । निजी लगानी पनि नियन्त्रणमा आउने आशंका छ ।

बीमा दावी

जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिको बीमा दावी हालसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबर बिमा दाबी पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ निर्जीवन बीमा कम्पनीमा जम्मा १ हजार ९८४ वटा बीमा दावी दर्ता भएका छन् । सबैभन्दा बढी दावी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा ४० दावी दर्ता भई रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ दावी दर्ता भई रु चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरेन्समा ३६६ दावी भई रु दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ बराबरको दावी दर्ता भएको छ । त्यस्तै, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ दावीमा रु एक अर्ब ५९ करोड छ लाख ८० हजार ८००, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ दावीमा रु एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ दावीमा रु एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९, नेको इन्स्योरेन्समा ४० दावीमा रु एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको बीमा दावी भएको छ ।

सानिमा जिआइसीमा १२९ दावीमा रु ७८ करोड ९३ लाख ७९ हजार, राष्ट्रिय बीमा कम्पनीमा १७२ दावीमा रु ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा १७० दावीमा रु ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ दावीमा रु ४६ करोड ९४ लाख ९८ हजार बराबरको क्षतिपूर्ति माग भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्समा १५१ दावीमा रु ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ दावीमा रु १९ करोड १८ लाख, नेशनल इन्स्योरेन्स कम्पनीमा १९ दावीमा रु ६ करोड ८२ लाख ९० हजार ७५६, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ दावीमा रु एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्समा छ दावीमा रु ६७ लाख सात हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्समा १५ दावीमा रु ५६ लाख ३६ हजार र ट्रष्ट माइक्रो इन्स्योरेन्समा आठ दावीमा रु ४२ लाख बराबरको दाबी परेको छ ।

बीमा कम्पनीहरूले २०७२ सालको गोरखा भूकम्पमा प्रायः १८ अर्ब रुपैयाँ भुक्तानी गरेका थिए । यस जेएनजेड आन्दोलनले त्यसभन्दा पनि धेरै दाबी सङ्कलन हुने जनाइएको छ । विशेषगरि भाटभटेनी, सीजी ग्रुप, चन्द्रागिरी हिल्स लगायतका निजी समूहमा क्षति हुँदा बीमा कम्पनीहरूले धेरै रकम भुक्तानी गर्नु पर्ने अवस्था आएको हो ।

प्राधिकरणले उच्च क्षतिमा दाबी प्रक्रिया छिटो चलाउन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ । सवारी साधन, निजी भवन, ढुवानी, कृषि बीमासहितका विविध सम्पत्ति बीमा शुल्क भुक्तानी गराइएका कारण क्षतिपूर्ति प्रक्रिया सहज हुन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, सरकारी संरचनाको बीमा नभएकाले सरकारले भार व्यहोर्नुपर्ने देखिएको छ । सरकारी प्रशासनिक केन्द्रमा भएको क्षतिले जनतामा मनोवैज्ञानिक असर पु¥याए पनि राजकोषीय भार भने बढ्ने छैन ।

नयाँ सुरुवातको चुनौती

दशैं–तिहारको रमझमको अपेक्षाले उद्योग–व्यापार र परिवारको उत्साह उच्च बनाउने बेला आएको यो कालो रातले सबैलाई सशंकित बनाएको छ । निजी र सार्वजनिक साझेदारीद्वारा क्रान्तिकारी निगरानी, सुरक्षा र कानूनी व्यवस्था बलियो भएपछि मात्र व्यवसायी र ग्राहक दुबै विश्वास पुनःपाउन सक्छन् ।

भविष्यमा फेरि त्यही उत्साह भेटाउन उद्योगी र सरकार दुबैले आपसी संवाद र ठोस योजना अघि बढाउनु आवश्यक छ । विभिन्न व्यवसायमा आबद्ध हजारौँ परिवारको रोजी रोटी गुम्ने भएपछि सामाजिक सुरक्षाको उपायहरू थप प्रभावकारी बनाइनुपर्नेछ । यस भौतिक क्षतिको पुनःनिर्माण र आम्दानी सिर्जनामा सबै तहका जनप्रतिनिधि, सरकारी निकाय र निजी क्षेत्र सहकार्यमा जुट्न बाँकी छ । यो घटना सामान्य विपद्भन्दा फरक भएकाले मुलुकका सम्पूर्ण पक्षले एक मतले अगाडि बढ्नुपर्ने चुनौती छ । अब नेपालको चुनौती मात्र समयमै रिकभरी हैन, मुलुकलाई फेरि आर्थिक गतिमा चलाउने नयाँ विश्वास जगाउनु हो ।

You might also like

Comments are closed.