चाडपर्वलाई लक्षित गर्दै रामपुरमा बजार अनुगमन, म्याद नाघेका सामग्री नष्ट

रामपुर (पाल्पा) । चाडपर्वलाई लक्षित गर्दै रामपुर नगरपालिकाको मुख्य बजार बेझाँडमा बजार अनुगमन भएको छ । दशैँ, तिहार लगायतका पर्वको समयमा अखाद्यवस्तुको मिसावट, म्याद नाघेका सामग्री बिक्री वितरण हुन सक्ने भएकाले उपभोक्ता हितलाई मध्यनजर गर्दै शुक्रबार अनुगमन गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले इलाका प्रशासन कार्यालय रामपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा, रामपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय रामपुर र नेपाल पत्रकार महासंघ लगायत सरोकारवालासँगको समन्वयमा अनुगमन भएको छ ।

अनुगमन टोलीले बेझाँड बजार क्षेत्रमा सञ्चालनमा रहेको मार्ट, खाद्यान्न तथा किराना पसल, मदिरा पसल, मासु पसल, डेरी उद्योग, होटल लगायतका ५३ वटा पसल तथा व्यवसायको अनुगमन गरेको छ । अनुगमनको क्रममा फेला परेका ७० हजार ४७० रुपैयाँ बराबरको म्याद गुज्रिएको, लेबल नभएका सामान जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए ।

अनुगमन टोलीले खाद्यवस्तुको म्याद, भए वा नभएको, खाद्यवस्तुमा रंग प्रयोगको अवस्था, मासु पसल तथा दुग्ध उद्योगको सरसफाईको अवस्था, नापतौल उपकरण ठिक भए वा नभएको, व्यवसाय दर्ता सम्बन्धित निकायमा गरे वा नगरेको, अन्तःशुल्क तिरे वा नतिरेको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कतिपय पसलमा मूल्य सूची स्पष्ट देखिने नराखेकोे, व्यवसाय दर्ता, नवीकरण तथा सूचीकृत नगरेको पाइएको छ । म्याद नाघेको तथा लेबल नभएका खाद्यवस्तु, मदिरा तथा पेयपदार्थ लगायतको सामाग्री जफत गरिएको छ । व्यवसाय दर्ता तथा नवीकरण नगरेका व्यवसायीलाई दर्ता तथा नविकरण गर्न, मूल्यसूची नराखेका अवस्थामा तत्काल मुल्यसूची राख्न आग्रह गरिएको घरेलु तथा साना उद्योग कार्यालय तानसेनका वरिष्ठ उद्योग अधिकृत केशव सुनारले जानकारी दिए ।

कार्यालयले चाडपर्वलाई लक्षित गरी तानसेन क्षेत्रका बजारसँगै रामपुर क्षेत्रको बजार अनुगमन गरिसकेको जानकारी दिए । जिल्ला प्रशासनको निर्देशन तथा स्थानीय तहको आग्रह अनुसार घरेलु तथा साना उद्योग कार्यालयले सरोकारवाला निकायसँगको समन्वयमा बजार अनुगमन गर्दै आएको छ । खाद्यवस्तु खरिद बिक्री गर्दा व्यसायी र ग्राहक दुवैले म्याद भए वा नभएको, मिसावट भए वा नभएको राम्रोसँग एकिन गरेर मात्रै खरिद बिक्री गर्न उनको आग्रह छ ।

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले अनुगमनका क्रममा देखिएका कमीकमजोरी तत्काल सुधार गर्न निर्देशन दिइएको बताए । यस पटकलाई सुधारका लागि अवसर दिइएको र आगामी दिनमा कमीकमजोरी देखिएमा कानुन अनुसार कारवाही गरिने उनी बताउँछन् । खाद्यान्नमा मिसावट भए वा नभएको जाँच्ने विधि सिकाउनुका साथै खरिद गरेर ल्याएका सामान जाँच गरेर मात्र बिक्री गर्न आग्रह गरिएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताए । साथै अनुगमन मिठाई पसल तथा होटलमा रंग प्रयोग नगर्न, किचन सफा राख्न सचेत गराइएको उनी बताउँछन् ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय तानसेनका वरिष्ठ उद्योग अधिकृत केशव सुनार, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराई, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठ, करदाता सेवा कार्यालय तानसेनका नायवसुब्बा योगमायाँ न्यौपाने, ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्लसहित कर्मचारी, प्रहरी, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा भेटिएका अखाद्यबस्तुको सरोकारवालाको रोहबरमा रामपुर नगरपालिका कार्यालय परिसरमा नष्ट गरिएको छ ।

You might also like

Comments are closed.