काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अस्पतालले संघका सम्पूर्ण सदस्य र परिवारको नियमित स्वास्थ्य परीक्षण गर्नेछ ।
विजयादशमी, दीपावली, म्हःपूजा, नेपाल संवत र छठपर्वको अवसरमा कुलेश्वरस्थित स्टार दरबारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संघ र एभरेष्ट अस्पताल बानेश्वरका प्रतिनिधि अविनाश झाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । यससँगै संघका सम्पूर्ण सदस्यले नियमित स्वास्थ्य परीक्षण सुविधा प्राप्त गर्ने भएका छन् ।
सदस्यहरूको जीवन तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सलीको इन्स्योरेन्स कम्पनीबीच संघका सदस्यलाई लक्षित बीमा सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको घोषणा पनि गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्णप्रसाद अधिकारीले संघका सदस्यले देशको आर्थिक क्षेत्रमा पु¥याइरहेको योगदानको प्रशंसा गर्दै अझ जिम्मेवारीपूर्वक अघि बढ्न अनुरोध गरेका छन् । संघका अध्यक्ष रमेश कोइरालाले पर्वले ल्याउने आपसी भाईचारा, सहकार्य र सामाजिक एकताको महत्व औंल्याउँदै संघलाई अझ मजबुत बनाउन सदस्यको सहकार्य अपरिहार्य रहेको बताए ।
कानूनी सल्लाहकार रुद्र ढुङ्गेलले स्वास्थ्य परीक्षण प्याकेज र बीमा सुविधासहित संघमार्फत आगामी दिनमा सञ्चालन हुने विभिन्न कार्यक्रमको रूपरेखा प्रस्तुत गरे । उनले संघभित्र पारदर्शिता, एकता र सहकार्यलाई बलियो बनाउँदै सदस्यको हितमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औैँल्याए ।
सहभागीले एकआपसमा शुभकामना आदानप्रदान गर्दै साँस्कृतिक तथा सामाजिक मूल्य बोकेका पर्वको अवसरमा शुभाकामना व्यक्त गरेका छन् । संघका अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुमार बोगटीले गरेका हुन् ।
Comments are closed.