काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सकिएको छ । सञ्चालक समिति अध्यक्ष अमितकुमार कयालको अध्यक्षतामा काठमाडौंमा साधारण सभा भएको हो ।
अध्यक्ष कयालले प्रस्तुत गरेको आ.व.२०८१/८२ वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी सभाले स्वीकृत गरेको छ ।
अध्यक्ष कयालले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीलाई एक उदाहरणीय कम्पनी बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम एवं अनुसन्धान, बैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानीको अभ्यासलाई अवलम्बन गरी कार्य भइरहेको बताए ।
प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आ.व. २०८१/८२ को कार्य प्रगतिबारे र आ.व. ०८२/८३ को रणनीतिक योजनाबारे जानकारी दिएका छन् । आ.व.०८२/८३ को लागि लेखापरीक्षक पि. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ ।
सभामा मुख्य कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वको कम्पनी रहेको जहाँ बीमितबाट सङ्कलित रकम लगानी भएकाले सुरक्षित लगानी गरी राम्रो प्रतिफल लिन गम्भिरतापूर्वक कार्य गर्न व्यवस्थापनलाई आग्रह गरेका छन् ।
मुख्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मूल लगानीको पूर्ण सुरक्षा गर्दै लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफल आउने गरी गर्न र मुख्य कम्पनीको ब्राण्ड ख्यातीलाई कम्पनीको विकासमा प्रयोग गर्न व्यवस्थापनलाई सुझाव दिए ।
साधारण सभाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका ४ जना कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाललाई सञ्चालक नियुक्तिका लागि अनुमोदन गरेको छ ।
सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई अध्यक्षमा चयन गरेको छ । साथै नवनियुक्त सबै सञ्चालक समितिले पदभार ग्रहण गरेका छन् ।
Comments are closed.