मुस्लिम युवामाझ सुशासन र सार्वजनिक प्रशासनबारे प्रशिक्षण

इसतयाक अहमद/विराटनगर । मुस्लिम युवालाई लक्षित गर्दै सुशासन र सार्वजनिक प्रशासनबारे विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालमा सम्भवतः पहिलोपटक यो कार्यक्रम गरिएको हो ।

नेपाल मुस्लिम युथ कमिटी विराटनगरको आयोजनामा शनिवार विराटनगरस्थित संगम पार्टी प्यालेसको सभाहलमा भएको कार्यक्रममा मुस्लिम युवालाई राजनीति, राज्य शासन, नीति निर्माण र सार्वजनिक सेवामा अवसरबारे मार्गदर्शन दिइएको छ ।

कार्यक्रमका प्रमुख प्रशिक्षक पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले मुस्लिम युवालाई राजनीति, सुशासन र लोकतान्त्रिक प्रक्रियामा सक्रिय हुन आह्वान गरे । उनी भन्छन्,“नेपालको निर्माणमा मुस्लिम समुदायको योगदान ऐतिहासिक रूपमा रहँदै आएको छ, अब नयाँ पुस्ताले सुशासनलाई व्यवहारमा उतार्दै राजनीति र सार्वजनिक प्रशासनमा उच्च दरमा सहभागिता जनाउँदै आफ्नो पहिचान स्थापित गर्न आवश्यक छ ।”

बिगतमा मुस्लिम समुदायले राष्ट्र निर्माण, सैन्य सबलता, प्रशासिनक र कानूनका क्षेत्रमा विशेषज्ञता, वास्तुकला, संगीत र भाषा–साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान, क्रान्तिमा महत्वपूर्ण भूमिका, पेसागत प्रभावकारिता आदिको माध्यमले मुस्लिम समुदायले इतिहास रचेको भन्दै अहिलेको हाम्रो पुस्तामा शिक्षा, क्षमता र इच्छाशक्तिको अभाव देखिएको, मनोबल घटेको विचार राखेका छन् । प्रशिक्षणका दौरान विभिन्न तथ्याङ्कहरु प्रस्तुत गर्दै मुस्लिम समुदायले राष्ट्र निर्माणमा खेल्न सक्ने भूमिकाबारे भावी कार्यनीतिमाथि प्रकाश पारेका छन् ।

सार्वजनिक प्रशासनका विषयविज्ञ सत्तार अन्सारीले प्रतिष्पर्धात्मक सेवामार्फत राज्य संरचनामा सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रणालीलाई टाढाबाट मात्र आलोचना गरेर हुँदैन, प्रणालीभित्र प्रवेश गरेर परिवर्तन सम्भव हुने बताए । नेपाल सरकारको हालै नियुक्त शाखा अधिकृत रानी खातुनले आफ्नो अनुभव सुनाउँदै सरकारी सेवामा प्रवेश चुनौतीपूर्ण भएपनि निरन्तर अध्ययन र दृढ सङ्कल्पले असम्भव भन्ने कुरा नभएको बताइन् ।

कार्यक्रमका समीक्षक माजिद अन्सारीले यस्तो प्रशिक्षणलाई मुस्लिम समुदायको लागि ऐतिहासिक पहलको रुपमा चित्रण गर्दै यस किसिमको पहलले युवामा आत्मविश्वास जागृत गर्ने मात्र नभई भविष्यमा नीति निर्माण तहमा मुस्लिम आवाजलाई सशक्त बनाउने आधार तयार गर्ने बताएका छन् ।

नेपाल मुस्लिम युथ कमिटीका अध्यक्ष निसार अहमदको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन एमाम हैदरले गरेका हुन् । कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, समाजसेवी, बौद्धिक व्यक्ति र सरोकारवाला, मोरङसहित झापा र सिरहाका युवा सहभागी रहेको बताइएको छ ।

You might also like

Comments are closed.