जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई काठमाडौं युरो स्कुलले पूर्ण छात्रवृत्ति दिने

काठमाडौं । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वल्र्ड स्कुलले परिवर्तनका लागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ ।

विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको हो ।

“शिक्षा नै सशक्तिकरणको माध्यम हो, लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो” अध्यक्ष पाण्डेले भने । विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

काठमाडौं युरो आईबी वल्र्ड स्कुलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ ।

 

 

You might also like

Comments are closed.