नेप्से ४४ अंकले उक्लिँदै २५५० नजिक, सबै समूहमा हरियाली

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा तीव्र वृद्धि देखिएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढ्दै २५४७ अंकमा पुगेको छ ।

समग्र बजार हरियालीमा रहे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज २ सय कम्पनीको मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको र ८ वटा कम्पनीको स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

समूहगत सूचक हेर्दा आज सबै समूहमा हरियाली देखिएको छ । अन्य समूह सबैभन्दा बढी ५.०१ प्रतिशतले उक्लिँदै अग्रस्थानमा रह्यो । त्यस्तै बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ र व्यापार समूह २.८१ प्रतिशतले बढेका छन् ।

आज मूल्यमा सर्वाधिक वृद्धि पाउने कम्पनीहरूमा नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा, र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स रहेका छन्, जसको मूल्य १० प्रतिशतले उक्लिएको हो । त्यस्तै इमर्जिङ नेपाल ९.९, एनआरएन इन्फ्रास्ट्रक्चर ९.८, बुटवल पावर कम्पनी ८.९८ र सीईडीबी होल्डिङ्सको मूल्य ८.४५ प्रतिशतले बढेको छ ।

उता, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ५.२६, थ्रीस्टार हाइड्रोपावरको ४.४५ र समता लघुवित्तको ३.५३ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

विश्लेषकहरूले पछिल्ला केही दिनदेखि बजारमा लगानीकर्ताको मनोबल विस्तारै बढ्दै गएको र केही ठूला कम्पनीमा उत्साहजनक कारोबार देखिन थालेको बताएका छन् ।

You might also like

Comments are closed.