करुणा फाउण्डेशन नेपाल सम्मानित

काठमाडौं । करुणा फाउण्डेशन नेपाल सम्मानित भएको छ । कल्याणमणि आचार्य दीक्षित स्मारक कोषको ३६औं वार्षिकोत्सवको अवसरमा फाउण्डेशन सम्मानित भएको हो ।

बहिरोपनको क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत फाउण्डेशनलाई सम्मान गरिएको छ । फाउण्डेशनका अध्यक्ष डा. विभाष वासुकलाले सम्मान ग्रहण गरेका हुन् । बहिरोपनको क्षेत्रमा विशिष्ट योगदान दिने संस्था वा व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम अनुसार यस पटक करुणा फाउण्डेशन नेपाल सम्मानित भएको छ ।

कल्याणमणि आचार्य दीक्षित स्मारक कोले गरेको यस सम्मानले संस्थालाई अझ प्रभावकारी रूपमा काम गर्न उत्प्रेरणा दिएको फाउण्डेशनले जनाएको छ । कल्याणमणि आचार्य दीक्षित स्मारक कोष, करुणा नेपालका साझेदारहरू र मुख्य सरोकारवाला अपाङ्गता भएका व्यक्तिप्रति फाउण्डेशनले धन्यवाद व्यक्त गरेको छ ।

फाउण्डेसनले कोशी प्रदेशका १३७ पालिकामा कोशी प्रदेश सरकार तथा स्थानीय तहहरूसँगको आर्थिक तथा प्राविधिक साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा हालसम्म जोडिएका ७८ हजार ५४१ सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई १३७ अपाङ्गता भएका व्यक्तिको संस्था (ओपिडि) र १ हजार ०३६ मिलीजुली समूहमा संगठित गरिएको छ । यसमा ११ हजार ६३४ जना सुनाइ सम्बन्धी अपाङ्गता भएका बालबालिका तथा वयस्कहरू रहेका छन् ।

कार्यक्रम अन्तर्गत १३७ पालिकाले स्वास्थ्य उपचार, सहयोगी सामग्रीहरू, शिक्षा, स्वरोजगार र रोजगारी, सामाजिकीकरण तथा सशक्तीकरणजस्ता मानव जीवनका सबै महत्त्वपूर्ण क्षेत्रमा सेवा दिइरहेका छन् । यस कार्यक्रमबाट ७५ हजार ७८५ अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र उपलब्ध गराई सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षाका विविध कार्यक्रममा पहुँच पुर्‍याउनका साथै अपाङ्गता भएका व्यक्तिको वर्गीकृत तथ्याङ्क दुरुस्त राख्न सहयोग पुगेको छ ।

यसका साथै १५० जना अपाङ्गता भएका व्यक्तिलाई पालिकामा तथा करुणा नेपालमा रोजगारीको अवसर समेत दिलाएको छ । यसैगरी जन्म दोष रोकथाम तथा बाल्यावस्थामा विकसित हुन सक्ने अपाङ्गताका क्षेत्रमा पनि यस संस्थाले प्रदेश सरकार तथा स्थानीय तहहरू र स्वास्थ्य संस्थामार्फत काम गरिरहेको छ ।

सन्तानको चाहना भएका एक लाखभन्दा बढी दम्पतीहरू, त्यतिकै सङ्ख्यामा गर्भवती महिला र नवजात शिशुलाई यस कार्यक्रमबाट सुविधा पुगेको छ । जन्म दोषसहित जन्मिएका ४०० भन्दा बढी शिशुको पहिचान र ३०० बढी शिशुको उपचार पनि यस कार्यक्रमको अर्को मुख्य उपलब्धि रहेको छ । मातृ शिशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुँदा आमा तथा शिशु मृत्युदर घट्ने मात्र नभई अपाङ्गता रोकथाममा पनि उल्लेख्य योगदान रहेको छ ।

कोशी प्रदेशका १३७ पालिकामा अपाङ्गता हेर्ने जिम्मेवारी सहितको शाखा र कर्मचारीको व्यवस्थापन, स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट र अपाङ्गता भएका व्यक्तिको सङ्ख्याका आधारमा समुदायमा आधारित पुनःस्थापना सहजकर्ताको व्यवस्थाले संस्थागत सुदृढीकरण गर्दै अपाङ्गतालाई सामाजिक विकासको महत्त्वपूर्ण सवालको रूपमा स्वीकार गरिएको छ ।

कोशी प्रदेश सरकार, पालिकाहरू तथा करुणाको साझा प्रयासले कोशी प्रदेशमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सामाजिक विकासको नमुना (मोडल) का रूपमा विकसित भएको छ । यो कार्यक्रम संघीय सरकारको सहकार्यले देशभर विस्तार हुने अवस्थामा छ ।

यसैगरी यो अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम नेपाल मोडेलका रूपमा कङ्गो, तान्जानिया र केन्यामा चलिरहेको छ भने अरू थप मुलुकमा समेत नमुना कार्यक्रमका रूपमा विस्तार हुने क्रममा छ ।

You might also like

Comments are closed.