भोटेकोशी जलविद्युत आयोजनाको निःशुल्क सेयरबारे भ्रममा नपर्न अनुरोध

काठमाडौं । भोटेकोशी जलविद्युत आयोजनाको निःशुल्क सेयर दिने सहमतिका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाइएको छ ।

गत असोज २६ गते सिन्धुपाल्चोक भोटेकोशीस्थित भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड (बिकेपिसी) बीच निःशुल्क सेयर लिने दिने सहमति नभएको एक विज्ञप्ती जारी गरी जानकारी दिइएको छ ।

विज्ञप्तीमा भनिएको छ, “भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले बिकेपिसीको १० प्रतिशत सेयरमा आवेदन दिन जलविद्युत उत्पादन क्षेत्रका प्रभावित स्थानीयलाई पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाइसकेपछि प्रति सेयर बराबर रु १०० रहेको सेयर १० प्रतिशत मात्र पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिदका लागि चाहिने ऋण बैंकबाट लिने, सो ऋणको लागि बिकेपिसीले जमानी मात्रको व्यवस्था मिलाउने सहमति भएको स्पष्ट पार्न चाहान्छौँ ।”

निर्माण सम्पन्न भइसकेको आयोजना भएकाले बिकेपिसीले बार्षिक रुपमा वितरण गर्ने लाभांशबाट १० प्रतिशत सेयर वापत पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएको छ । यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण सञ्चारमाध्यम लगायत सरोकारवाला निकायलाई विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

You might also like

Comments are closed.