रामपुर अस्पतालमा स्वास्थ्य सेवा वार्षिक प्रगति समिक्षा सम्पन्न

रामपुर (पाल्पा) । रामपुर अस्पताल रामपुर पाल्पाले गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य सेवाहरुको वार्षिक प्रगति समिक्षा गरेको छ । अस्पतालले बुधबार कार्यक्रम गरी आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य सेवाको समिक्षा गरेको हो ।

रामपुर अस्पताल विकास समितिका अध्यक्ष युवराज खनालको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रम हो । प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोर सञ्चालनसंगै बढ्न सक्ने सम्भावित सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रामपुर अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउनु आवश्यक रहेको बताए ।

कालीगण्डकी करिडोरको आडैमा रहेको अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न र सेवा थपका लागि माग राख्दै आएको उनी बताउँछन् । उनले ओपिडी सेटअफ, डेण्टल सेवा सेटअप र छुुट्टै पोष्ट मार्टम घर निर्माणका लागि लुम्बिनी प्रदेश बाट विनियोजन भएको समेत जानकारी दिदै अस्पतालको सेवालाई सर्वसुलभ र थप सहज बनाउनका लागि विशेष ध्यान दिन आग्रह गरेका छन् ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सेवाको गुणस्तर कायम गर्दै अघि बढ्न आग्रह गरे । नगरपालिकाले आवश्यक साथ र सहयोग गर्दै आएको जानकारी दिदै अस्पतालको सही व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा नगर प्रमुख थापाको जोड छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निदेशनालयका प्रमुख मानबहादुर ओली, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेल, पाल्पा अस्पतालका प्रमुख डा. राजेन्द्र पौडेल, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल र रामपुर नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले लगायतले अस्पतालको सेवा प्रवाहका बारेमा आफ्ना भनाइ राखेका छन् । रामपुर अस्पतालका प्रमुख डा. शान्तबहादुर रोकाले जिज्ञासा र उठेका प्रश्नको जवाफ दिएका हुन् ।

कार्यक्रममा अस्पतालका मेडिकल रेकर्डर खिम थापाले अस्पतालको कार्यप्रगति विवरण सहितको तथ्याङ्क प्रस्तुत गरेका छन् । वरिष्ठ रेडियोलोजिष्ट नेत्र नारायण पोखरेलको व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन नर्सिङ्ग अधिकृत ममता रेग्मीले गरेकी हुन् ।

You might also like

Comments are closed.