पाल्पाली खेलाडी विनिता राना यू–१९ राष्ट्रिय महिला भलिबल टिममा चयन

रामपुर (पाल्पा) । पाल्पा रामपुरकी भलिबल खेलाडी विनिता राना नेपाल यू–१९ महिला भलिबल टोलीमा चयन भएकीछिन् ।

नेपाल भलिबल संघको आयोजनामा गत भदौ ६ र ७ गते सम्पन्न खेलाडी छनौट कार्यक्रमबाट १८ खेलाडीको प्रारम्भिक सूचीमा परेकी राना एक महिनाको बन्द प्रशिक्षणपछि राष्ट्रिय टोलीको १२ जनाभित्र आफ्नो स्थान बनाउन सफल भइन् ।

टोलीले सेन्ट्रल एसियन भलिबल संघ (काभा) को स्वीकृति र श्रीलंका भलिबल फेडरेशनको आयोजनामा श्रीलंकाको कोलोम्बोमा हुने काभा यू–१९ महिला भलिबल च्याम्पियन–२०२५ मा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता आगामी कात्तिक १७ देखि २४ गतेसम्म (४–९ नोभेम्बर २०२५) सञ्चालन हुनेछ ।

नेपाली टोलीमा जेनिशा विश्वकर्मा, भावना तामाङ, मीना सुनार, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झाना नेपाली, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ र विनिता राना रहेका छन् । स्टेप रामपुर मार्फत भलिबल प्रवेश गरेकी राना नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पाल्पाको पहिलो महिला भलिबल खेलाडी बनिन् ।

उनले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड, प्रचण्ड कप राष्ट्रिय भलिबल, मुख्यमन्त्री कपमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन् । दाङमा भएको मुख्यमन्त्री कपमा उत्कृष्ट मिडिल ब्लकरको उपाधी समेत जितिन् । पोखरामा भएको ९औं एनभिए कपमा एभरेष्ट भलिबल क्लबबाट सहभागी भइन् ।

स्टेप रामपुर परिवारले रानाको सफलतालाई ऐतिहासिक उपलब्धि बताउँदै सम्पूर्ण रामपुर नगरपालिका र पाल्पा जिल्लाको गर्वको विषय बनेको प्रतिक्रिया दिएको छ । स्टेप रामपुरले महिला भलिबलको उत्थानको लागि निःशुल्क प्रशिक्षणसहित महिला खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको प्रशिक्षक कमल रानाले जानकारी दिए ।

 

You might also like

Comments are closed.