ड्रिम टु प्ले टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौं । बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टु प्ले प्रतियोगिताको अन्तिम दिनका खेलहरू सकिएसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको छ ।

सिंगल राउण्ड रोबिन लिग फम्र्याटमा खेलाइएको प्रतियोगितामा मोरङले आफ्ना सबै चार खेलमा स्पष्ट नतिजासहित ८ अंक बटुलेको थियो । त्यस्तै झापा, सुनसरी र ईलामले क्रमशः ६, ४ र २ दुई अंक बटुलेका थिए भने आफ्ना सबै खेलमा हार बेहोरेको उदयपुर भने अंक तालिकाको पुछारमा रह्यो ।

प्रतियोगितामा कुल ११ विकेट लिएका मोरङका प्रेम कुमार कामत बेस्ट बलर घोषित भए । प्रतियोगिताभर १६ ओभर बलिंग गरेका कामतले २.५० को इकोनोमीमा २ मेडन सहित जम्मा ४० रन खर्चिएका थिए । त्यस्तै, १२१.५ को स्ट्राइक रेटमा ४ छक्का र १३ चौका सहित कुल १३० रन बनाएका सुनसरीका आकाश सर्राफ प्रतियोगिताकै उत्कृष्ट ब्याटर घोषित भए ।

प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने इलामका लव कामतले पाए। उनले कुल १६ ओभरको बलिंग स्पेलमा ४० रन खर्चिंदै ७ विकेट लिएका थिए जसमा ६५.४ को स्ट्राइक रेट र २.५० को इकोनोमी रहेको थियो । कुल १० खेल भएको प्रतियोगितामा ७२ जना खेलाडीहरू सहभागी भए । प्रतियोगितामा कुल १३९५ रन बनेका थिए भने जम्मा १६० विकेट खसेका थिए । २२ ओभर मेडन जाँदा ४६ छक्का र ९९ चौका बर्सिएका थिए भने दुईवटा अर्धशतक बने ।

गत असोज २४ गतेबाट सुरु भएको प्रतियोगिताको हिजो सम्पन्न अन्तिम दिनको पहिलो खेलमा मोरङले इलामलाई एक विकेटले पराजित गरेको थियो । सुरुमा ब्याटिङ गर्न उत्रिएको इलामले सबै विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो । मोरङले ८७ रनको लक्ष्य एक विकेट बाँकी रहँदै पछ्याउन सफल भयो। ४ ओभरको स्पेलमा १४ रन खर्चिएर ५ विकेट लिएका प्रेम कुमार तामाङ प्लेयर अफ द म्याच चुनिएका थिए ।

त्यस्तै, दिनको दोस्रो खेलमा झापाले सुनसरीलाई तीन विकेटले पराजित गर्यो । सुरूमा ब्याटिङ गर्न उत्रिएको सुनसरीले ९ विकेट गुमाएर केवल १२४ रन बनाएको थियो । प्लेयर अफ द म्याच चुनिएका दीपु भुषालले तीन चौकाको मद्दतले ४६ बलमा ४२ रन बनाए ।

यस क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम गरी पाँच जिल्लाका अण्डर–२३ टिमहरूले एक आपसमा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आयोजकले उदयीमान खेलाडीका लागि प्रतिभा प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिलेको बताए ।

प्रतियोगितामा उच्च प्रदर्शन गरेका युवा खेलाडीहरू अब बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा बसेर टिमसँगै अभ्यासमा सहभागी हुनेछन् । यसका साथै उनीहरूले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडीसँग अभ्यास गर्दै आफ्नो खेल कौशल विकास गर्ने र व्यवसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन् ।

डेभलपमेन्ट स्क्वाडमा छानिएकामध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्नेछन् ।

You might also like

Comments are closed.