काठमाडौं । स्वास्थ्य बीमा नवीकरण गर्दा लाग्ने थप शुल्क तिनु नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ ।
बोर्डले बिहीबार निर्णय गर्दै अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिएको छ । यसअघि बोर्डले ११ भदौमा जारी गरेको सूचनामा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले असोज मसान्तसम्म बीमालेख नवीकरण नगरेमा थप शुल्क लाग्ने उल्लेख गरेको थियो ।
जसअनुसार म्याद कटेको तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत, ६ महिनाभित्र ३० प्रतिशत, एक वर्षभित्र ५० प्रतिशत, एक वर्षपछि शत प्रतिशत, दुई वर्षपछि तीन गुणा र तीन वर्षपछि चार गुणा थप शुल्क तिर्नुपर्ने व्यवस्था थियो ।
बोर्डले हालको परिस्थिति र आवश्यक संरचना तयार गर्न थप समय चाहिने भन्दै यो व्यवस्था स्थगित गरेको हो । यो निर्णयसँगै लामो समयदेखि बीमा नवीकरण नगरेका नागरिकलाई तत्काल थप शुल्कको बोझबाट राहत मिलेको छ ।
Comments are closed.