काठमाडौं । विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता २४१ दशमलव ५० मेगावाट बराबर रहेको छ ।
विभागले हालसम्म २६६ आयोजनालाई निर्माण अनुमति पत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार ८२५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला (४ दशमलव ७२ मेगावाट), लोअर वरुण (१३२ मेगावाट), म्याग्दी खोला बी (१२ दशमलव ५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो ।
साथै माथिल्लो मेलम्ची (४ दशमलव ९५ मेगावाट), सुपर सभा खोला (९दशमलव ५५ मेगावाट), लोअर मेलम्ची खोला (४ दशमलव ९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला (२८ दशमलव ९० मेगावाट) र इन्दुवा खोला (२४ दशमलव ९२ मेगावाट)लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो । विभागले हालसम्म कूल १८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ ।
यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमति पत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार ५३२ मेगावाट बराबर छ । सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमति पत्र लिएका छन् । ती आयोजनाको क्षमता ८४ मेगावाट छ । तीन वटा सौर्य परियोजनाले निर्माण अनुमति पत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको क्षमता १५ मेगावाट छ ।
निर्माण अनुमति पत्र लिए पनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमति पत्र खारेज गरिएको विभागले जनाएको छ । निर्माण अनुमति पत्रका लागि आवेदन दिएका र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन खारेज गरिएको छ । त्यस्तै, ११८ वटा आयोजनाको सर्वेक्षण अनुमति पत्र खारेज गरिएको छ ।
Comments are closed.