मस्ताङ । मुस्ताङ भन्सार कार्यालयले रु. ३ अर्ब १ करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।
नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले गत भदौ ३१ गते पूर्ण रूपमा व्यापारिक मार्गको रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलवारसम्म सो राजस्व सङ्कलन गरेको जनाएको छ ।
चीनबाट आयात निर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँच पास गर्ने गरेको छ । हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँच पास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।
उनका अनुसार हालसम्म ६५७ चीनबाट कोरला नाका हुँदै आयात गरिएका मालसामान बाहक कन्टेनरको जाँच पास भएको हो । यसैगरी, नेपालतर्फ सात वटा मालसामान कन्टेनर भन्सार जाँच पास भई कोरला नाकाबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताए ।
कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामान दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ । नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ ।
Comments are closed.