‘अपि टावर’ निर्माण प्रक्रिया सुरु

काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा विगत २२ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यकाको मुटुमा पर्ने नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माणको सिलान्यास गरेको हो । अपि टावर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शुक्रबार सम्पन्न सिलान्यास कार्यक्रममा कम्पनीकी अध्यक्ष सिर्जना खड्काले भवनलाई कम्पनीको ऐतिहासिक उपलब्धि भन्दै यसले अपि पावरको संस्थागत पहिचानलाई अझ मजबुत बनाउने बताइन् ।

नवीकरणीय ऊर्जामा दुई दशकको यात्रा
वि.सं. २०५९ मा स्थापना भएको अपि पावर कम्पनी अहिले नेपालका निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये अग्रपंक्तिमा रहेको छ । कम्पनीले हालसम्म ५६.५ मेगावाट जलविद्युत र ६ मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ । कम्पनीले आफ्नो पहिलो ठूलो सफलता दार्चुलाको ८.५ मेगावाट नौगड गाढ जलविद्युत आयोजना केवल १७ महिनामा सम्पन्न गरेर देखाएको थियो — जसले नेपालका दुर्गम क्षेत्रहरूमा बिजुली पु¥याउने ऐतिहासिक काम गरेको थियो ।

विस्तार र विविधीकरणको दिशा
हाल कम्पनीले दार्चुलामा ८ मेगावाटको अप्पर नौगड गाढ र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर नेपाल विद्युत प्राधिकरणलाई बिक्री हुँदै आएको छ ।
त्यस्तै कम्पनीले ऊर्जा मिश्रणको सरकारी नीतिअनुसार सौर्य ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय लगानी गरेको छ । कम्पनीका चन्द्रनिगाहपुर (४ मे.वा.), ढल्केबर (१ मे.वा.) र सिमरा (१ मे.वा.) सौर्य आयोजना सञ्चालनमा छन् भने परवानीपुर (८ मे.वा.) सौर्य आयोजना निर्माणाधीन अवस्थामा छ ।

लगानी र सहायक कम्पनीहरू
अपि पावरले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्दै विभिन्न कम्पनीहरूमा साझेदारी गरेको छ । कम्पनीको २५ प्रतिशत लगानी रहेको ९.७ मेगावाट माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना (पाँचथर) संचालनमा छ, जसको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ ।

त्यसैगरी कम्पनीले ५९.६७ प्रतिशत शेयर खरिद गरी नियन्त्रणमा लिएको सूर्यकुण्ड हाईड्रोइलेक्ट्रिक लिमिटेड बाट नुवाकोटको ११ मेगावाट माथिल्लो तादी खोला आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याएको छ र अब यस कम्पनीको शेयर पनि सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको अन्तिम तयारीमा छ ।

अपि पावरले दार्चुला पावर लिमिटेडको बहुमत शेयर खरिद गरी २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन २० महिनाभित्र सम्पन्न हुने लक्ष्य छ । त्यसका अतिरिक्त कम्पनीले नुवाकोटको त्रिशुली गल्छी (३० मे.वा.) र दार्चुलाको न्वागाढ (९.७ मे.वा.) जलविद्युत आयोजनाको सर्वेक्षण गरिरहेको छ ।

अपि टावर : संस्थागत सुदृढीकरणको प्रतीक
कम्पनीले आफ्नो २१औं वार्षिक साधारण सभाको निर्णयअनुसार नयाँबानेश्वरमा अपि टावर निर्माण गर्ने निर्णय गरेको हो । भवनमा अपि पावर कम्पनी र यसको सहायक कम्पनीहरूका कार्यालय रहनेछन् ।

कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले भने, “अपि टावर केवल भवन होइन, यो हाम्रो लगानीकर्ताहरूको साझा सम्पत्ति हो — जसले कम्पनीमा पारदर्शिता, स्थायित्व र विश्वासको नयाँ अध्याय सुरु गर्नेछ ।” उनका अनुसार यो भवन आफ्नै लगानीमा बन्ने निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये दुर्लभ उदाहरण हो ।

कम्पनीका अधिकारीहरूका अनुसार अपि पावरले आगामी वर्षहरूमा जलविद्युत र सौर्य दुवै क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने योजना बनाएको छ । अध्यक्ष सिर्जना खड्का भन्छिन्, “हाम्रो लक्ष्य केवल विद्युत उत्पादनमा सीमित छैन, हामी दीगो ऊर्जा प्रवद्र्धन, लगानीकर्ताको हित सुरक्षा र देशको ऊर्जा आत्मनिर्भरता सुनिश्चित गर्न प्रतिबद्ध छौं ।”

लगानीकर्ता समुदायका प्रतिनिधिहरूले पनि अपि पावरको निरन्तर विस्तार र पारदर्शी वित्तीय अभ्यासले बजारमा कम्पनीप्रति विश्वास बढाएको बताएका छन् ।

 

You might also like

Comments are closed.