आधुनिक कृषिले नेपाललाई आत्मनिर्भर बनाउन सक्छ

श्रीकृष्ण भण्डारी, महासचिव, नाल्बा

नेपाल विभिन्न भौगोलिक बनावट, जलवायु र प्राकृतिक स्रोत–साधनले धनी देश हो । हिमाल, पहाड र तराईका फरक–फरक भू–भाग र हावापानीका कारण नेपालमा विभिन्न प्रकारका बालीलगायत कृषिसम्बन्धी गतिविधि गर्न सम्भव बनाएको छ । यिनै विशेषताले गर्दा नेपाललाई कृषि विकासका दृष्टिले अत्यन्तै सम्भावनायुक्त देश मानिन्छ । तर कृषि क्षेत्र अझै पनि परम्परागत पद्धतिमा आधारित भएकाले उत्पादन तथा उत्पादकत्व मनासिब वृद्धि हुन सकेको छैन ।
कृषिमा आधुनिकरण अब अपरिहार्य हो । पर्याप्त सिँचाइ, आधुनिक प्रविधि प्रयोग, तालिम, कृषि शिक्षा र अनुसन्धानका माध्यमबाट मात्र उत्पादनमा गुणात्मक सुधार ल्याउन सकिन्छ । किसानलाई मौसम, कीरा–रोग र बजार मूल्य सम्बन्धी जानकारी उपलब्ध गराउने डिजिटल स्मार्ट–कृषि प्रविधि विस्तार गर्न सके कृषि क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव छ । कृषि बीमा, सहुलियत कर्जा, भण्डारण सुविधा, कोल्ड–स्टोर, प्रशोधन उद्योग र निर्यात प्रोत्साहन जस्ता उपायबाट कृषिलाई व्यावसायिक तथा रोजगारमूलक क्षेत्रमा रूपान्तरण गर्न सकिन्छ ।
सरकारले कृषि क्षेत्रमा प्राथमिकता दिएको दाबी गरे पनि व्यवहारमा आवश्यक सुधार र प्रभावकारी काम हुन सकेको देखिँदैन । अब कृषिको विकासका लागि सरकार, निजी क्षेत्र, सहकारी संस्था र स्थानीय समुदायको संयुक्त प्रयास अत्यावश्यक छ । केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी कृषि योजना, बजेट र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी छ । निजी क्षेत्र र सहकारीको सक्रिय सहभागिताबाट कृषि उद्योग, प्रशोधन तथा बजार प्रणाली मजबुत बने कृषि क्षेत्रबाट समृद्धि हासिल गर्न सकिन्छ ।
अत कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको सुदृढीकरण बिना समृद्ध नेपाल निर्माणको कल्पना सम्भव छैन। कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, दिगो र युवा–मैत्री बनाउन सकेमा मात्र किसानको जीवनस्तर उकासिनेछ र देश आत्मनिर्भर तथा निर्यातमुखी कृषि अर्थतन्त्र तर्फ अघि बढ्न सक्षम हुनेछ ।

You might also like

Comments are closed.