गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा पुस १४ गते मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा आयोजना गर्ने भएको छ ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले पुस १४ गते बिहान ११ बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको हाल कायम ७५ करोड रुपैयाँ चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर (१ः१ अनुपात) जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै आवश्यक परेमा वा निर्देशन आएमा अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्नुपर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधन, सर्वसाधारण शेयरधनी प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको नियुक्ति/निर्वाचन, तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृति पनि सभाको एजेन्डामा छन् । साथै २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिने बताइएको छ ।

कम्पनीले सभा प्रयोजनका लागि मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार सो मितिभन्दा अघिसम्म नाम दर्ता भएका शेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । साथै, यस वर्ष इन्स्योरेन्स क्षेत्रभित्र प्रथम वार्षिक साधारणसभा आयोजना गर्ने कम्पनीको रूपमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ ।

You might also like

Comments are closed.