काठमाडौैं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका देशभरका ६७ शाखा कार्यालयका प्रमुखहरूको दुईदिने रणनीतिक कार्यशाला (Interaction Workshop) गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हालको बैंकिङ बजारको चुनौती, अवसर र बैंकले अघि बढाउनुपर्ने रणनीतिक भूमिकाबारे विस्तृत रूपमा छलफल गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले आफ्नो क्षेत्रमा रहेका सम्भावित ग्राहकहरूको अवस्था, व्यवसायिक सम्भाव्यता र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। विशेषगरी बैंकमा उपलब्ध पर्याप्त निक्षेपलाई गुणात्मक कर्जाको रूपमा परिवर्तित गर्न आवश्यक उपायहरू र रणनीतिहरूमा गहन बहस भएको थियो।
सञ्चालक समितिका अध्यक्ष ढकालले बैंक व्यवसाय विस्तार योजनामा विशेष महत्त्वका साथ अघि बढ्नुपर्ने, क्षेत्रगत सम्भावनाअनुसार रणनीति बनाउनुपर्ने र सरकारी बैंकप्रति जनविश्वासलाई अझ सकारात्मक बनाउँदै सेवा प्रवाहलाई चुस्त तथा प्रभावकारी बनाउन निर्देशन दिए। त्यस्तै, सञ्चालक समिति सदस्य हरि कुमार सिलवालले बैंकको मानव संसाधन युवा र ऊर्जावान भएको भन्दै यसलाई व्यवसाय विस्तारको ठोस अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले उपलब्ध निक्षेपलाई अवसरका रूपमा सदुपयोग गरी गुणस्तरीय कर्जा वृद्धि गर्नुपर्ने भन्दै सेवा प्रवाहमा सुधार, ग्राहकसँगको सकारात्मक व्यवहार, बोलीचाली र व्यवस्थित सेवा वितरणका महत्त्वपूर्ण बुँदाहरू प्रस्तुत गरे। उनले शाखा प्रबन्धकहरूलाई कर्जा विस्तारलाई लक्ष्यअनुसार अघि बढाउन तथा गुनासोरहित सेवा वातावरण निर्माण गर्न निर्देशन पनि दिए। बैंकले कर्जाको गुणस्तर सुनिश्चितताका लागि कर्मचारी क्षमता अभिवृद्धिमा विशेष जोड दिने बताए।
उक्त कार्यक्रमका सहजकर्ता उपकार्यकारी अधिकृत पवन रेग्मी रहे भने औपचारिक सत्र विभागीय प्रमुख आनन्द सुवेदीले सञ्चालन गरेका थिए। कार्यक्रममा उपकार्यकारी अधिकृतहरू विनय रमण पौडेल, दुर्गा कुमारी कडेल, राम कुमार थापा, नायव प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रबन्धकहरूको उपस्थिति रहेको थियो।




Comments are closed.