लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ देखि १४ गतेसम्म लेखनाथको तालचोकमा लेखनाथ महोत्सव हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ मूल भावनाका साथ हामीले यो महोत्सवलाई अगाडि बढाएका छौं ।
पोखरा पर्यटन राजधानी शहर हो । लेखनाथ क्षेत्र पर्यटनका लागि राम्रो सम्भावना र अवसर भएको ठाउँ हो । हामीले पोखराको लेखनाथ क्षेत्रमा महोत्सव आयोजना गरिरहँदा यहाँ पर्यटनमा पनि सकारात्मक योगदान पुगिरहेको छ । यो महोत्सव केवल व्यापारिक मेला मात्र नभई पर्यटकीय उत्सव पनि हो ।
म सम्पूर्ण देशवासीलाई यो महोत्सवको अवलोकनका लागि हार्दिक निमन्त्रणा गर्दछु । तपाईँहरू पोखराको सुन्दरता घुम्न आउनुहोस् र साथै लेखनाथ महोत्सवको अवलोकन गरी यहाँको स्थानीय कला, संस्कृति र उत्पादनसँग साक्षात्कार गर्नुहोस् । महोत्सवलाई हामीले केवल किनमेल गर्ने ठाउँको रूपमा मात्र हेरेका छैनौँ । यो उद्यमशीलता सिक्ने र सिकाउने थलो पनि हो । यहाँ नयाँ व्यवसायीहरूले बजारको माग बुझ्न पाउँछन् भने पुराना अनुभवी उद्यमीहरूले आफ्नो अनुभव बाँड्ने अवसर पाउँछन् ।
यसपटक हामीले विशेषगरी ‘मेड इन नेपाल’ उत्पादनहरूलाई विशेष फोकस गरेका छौं । महोत्सवमा कृषि, विद्युतीय उपकरण, फर्निचर, भाँडाकुडा र गार्मेन्टका विभिन्न स्टलहरू रहनेछन् । कृषिका स्थानीय उत्पादनहरू जस्तै मह, माछा र डेरी प्रडक्टहरूलाई हामीले विशेष प्राथमिकता दिएका छौं । हाम्रो मुख्य नारा नै ‘स्वदेशी उत्पादन प्रयोग गरौं’ भन्ने छ । स्वदेशी उद्योगहरूले प्रसय पाउँदा नै देशमा रोजगारी सिर्जना हुने र आर्थिक समृद्धि सम्भव हुने हाम्रो विश्वास छ । जब युवाहरूले आफ्नै देशमा उत्पादन र बजारको अवसर देख्छन्, तब मात्र विदेश पलायन हुने क्रम कम हुन्छ । यो महोत्सवले नेपाली उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण इँटा थप्ने हामीले विश्वास लिएका छौं ।
महोत्सवलाई थप आकर्षण दिन यसपटक हामीले बाल उद्यममा ‘जल परी’ ल्याएका छौं । दर्शकहरूको भरपुर मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि रहनेछन् । बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले महोत्सवमा रमाउने वातावरण हामीले सिर्जना गरेका छौं ।
लेखनाथ महोत्सवलाई भव्य बनाउन सम्पूर्ण लेखनाथबासीको अपार साथ र सहयोग प्राप्त भएको छ । विशेषगरी प्रायोजकहरूको साथले हामीलाई ठूलो उर्जा मिलेको छ । मुख्य प्रायोजनमा यहीँको स्थानीय उत्पादन गृहलक्ष्मी ग्यासले हामीलाई साथ दिएको छ ।
सह–प्रायोजनमा नर्भिक हस्पिटल, पशुपति बिस्कुट र हेटौंडा डेरी लगायत बिएलसी ग्रुपको महत्वपूर्ण साथ प्राप्त भएको छ । फुड फेस्टिभलमा गोर्खा ब्रुअरीले साथ दिएको छ । विभिन्न वित्तीय संघसंस्थाहरू र उत्पादन कम्पनीहरूले देखाउनुभएको सद्भावप्रति हामी अत्यन्तै आभारी छौं । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउन यो महोत्सव कोशेढुंगा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ ।





Comments are closed.